लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको सरसफाई अभियानको शतक शृंखला, मणिग्राममा सरसफाई स्मारक बन्दै

IMG

तिलोत्तमा,२०७९ फागुन २१। तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको १०० औं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नगरसरसफाईको १०० औं श्रृङखला लाई स्मरणीय बनाउन मणिग्राममा सरसफाई स्मारक निर्माण कार्यलाई तिब्र बनाएको छ। मणिग्राम चोकमा निर्माण भैरहेको स्मारकमा सरसफाइ गरिरहेको अनि  समग्र अभियानको प्रतिकको रुपमा महिला पुरुषको सुन्दर मुर्ति राखिने अभियानका संयोजक सुरेन्द्र श्रीले बताए। 


फागुन २५ गते  बाट सप्ताब्यापि कार्यक्रम गर्दै चैत्र १ गते भब्यताको साथ समारोह आयोजना हुदैछ । तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ।अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । अभियानको क्रममा भएका बैठकले सप्ताब्यापि अभियानमा  वार्डको सरसफाइलाई घर ,आगंन ,टोल बस्ति सडक घोला नाला सार्बजनिक क्षेत्र समेतमा पुराउदै पुर्ण रुपमा सफल बनाउने संकल्प गरेको छ ।


चैत्र १ गते पुग्ने एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए । सो कार्यक्रमअन्र्तगत् जनचेतना अभिवृद्धिका लागि माईकिङ, बहस, वक्तृत्वकला प्रतियोगिता, नगरस्तरीय सरसरसफाई, रक्तदान, विद्यालय सरसफाई, कम्पोष्टविन वितरणलगायतका काम हुनेछन् । २७ गते नगरस्तरीय सरसफाई, रक्तदान, ३० गते मानव साङ्लोसहितको सिक्सलेन सफाई र चैत्र १ गते एक सयौं श्रृखंलाको स्मारक समुद्घाटन, झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम र नो हर्न नगरपालिका घोषणा कार्यक्रम तय गरिएको नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए ।


नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत् हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरबासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् ।


नगर क्षेत्रका राजनीतिक दल, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, शिक्षण संस्था, सुरक्षा निकाय, क्लव, आमा समूह, टोल विकास संस्था, बैंक तथा वित्तीय संस्थासँग अभियानका विषयमा छलफल गरिएको र सम्बद्ध सबैले यो अभियानलाई अझैं प्रभावकारी बनाउँदै सप्ताहव्यापी कार्यक्रममा व्यापक सहभागिताको प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर प्रमुख रामकृष्ण खाणको संयोजकत्वमा निर्देशक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीको संयोजकत्वमा व्यवस्थापन समिति बनाएर तयारीका काम अघि बढाएको हो ।



कमेन्ट गर्नुहोस्