
तिलोत्तमा सिटी,१५ साउन २०७८,शुक्रबार। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले भने ।सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।
बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए । बिहीबारको छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । तर पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।
देउवालाई विश्वासको मत दिने केही सांसदहरु भने सरकारमा सामेल हुनुपर्ने पक्षमा छन् । तत्काल पार्टी विभाजन गरेर भए पनि सरकारमा जानुपर्ने उनीहरुको तर्क छ।देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए । विशेषगरी ओली समूह छाडेर विश्वासको मत दिनेहरु सरकारमा जान जोड गरिरहेका उक्त भेलामा सहभागी एक सांसदले बताए ।आजभोलि नै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरु लागिपरेका छन् ।
कमेन्ट गर्नुहोस्