लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुविधा खाने सांसदले परमादेशकै विरोध गर्ने ?-सांसद बिडारी

tillotmacitynews - 2021 Jul 28 12:04 PM
IMG

तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार।अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सुबिधा खाएर परमादेशको बिरोध गर्नुको तुक नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए ।‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका विरुद्ध यत्रा कुरा ?’ उनले कडा रुपमा भने । नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरे ।‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको हो ।


राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण? हेर्ने त नियुक्ति ?’ उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार गरेको हेक्का राख्न र एकपटक संबिधान पढेर ससद भवनमा छिर्न सांसदहरुलाई आग्रह गरे । सांसद विडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेको दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गरे । ‘परमादेशबाटै एमाले नामको दल खडा भयो, माओवादी दल खडा भयो । त्यही दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको छ,’ उनले भने ।


सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र विद्रोहीले विद्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो ? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीले टिप्पणी गरे । ‘यस्ता कुरा गरेर हामीले खाएको तलब भत्ता पच्दैन, यस्ता कुरा भोलिबाट नगरौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्