लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता

IMG

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी।  नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ ।


सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने।केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।


केन्द्रीय सदस्यको नाम सङ्कलन जारी

केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । ‘प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ,’ नेता शर्माले भने, ‘यो काम आज (सोमबार) नै सकिन्छ होला ।’सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।



एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेताहरु ।

यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।एक समय माओवादीमा ४ हजार बढी केन्द्रीय सदस्यहरु थिए । २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र  माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेका थिए ।२०७७ फागुन २३ मा सर्वोच्चले पार्टी एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए ।


सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अब उनीहरु नफर्किने निष्कर्षसहित रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादीको छ ।अनलाइन खबरमा समाचार प्रकाशित गरिएको छ। 

कमेन्ट गर्नुहोस्