लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोभिडको दाग १ दशक रहनेछ,कलाक्षेत्र नराम्रोसँग थला प-यो :रामजी ज्ञवाली, निर्देशक तथा संचारकर्मी

IMG

जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। चर्चित मनोरन्जन पत्रकार तथा निर्देशक रामजी ज्ञवालीले नेपालको समग्र मनोरन्जन उद्योग धरासायी स्थितिमा पुगेको बताएका छन् । तिलोत्तमा सिटीसँगको छोटो अन्तरवार्तामा ज्ञवालीले भने, 'कला उद्योगसँग सम्बन्धित हरेक क्षेत्र थला परेको अवस्था छ । यो उद्योग उठ्न अब कम्तिमा ५ बर्ष र धेरैमा एक दशक लाग्ने सम्भावना छ ।'कोभिड–१९ का कारण अन्य क्षेत्रको तुलनामा यो उद्योगमा झन् प्रभावित भएको उनको भनाई छ । कोरोना महामारीका कारण यो उद्योगमा कार्यरत लाखौं व्यक्ति निकै प्रभावित परेका छन्, उनले भने, 'नेपाली चलचित्र, गीत संगीत, नाट लगायतका विषयको वर्तमान अवस्थाको चित्रण गर्दा निकै दयनिय अवस्था छ । यति ठुलो उद्योग जोगाउन सरकारका तर्फबाट कुनैपनि योजना अगाडी सारिएको छैन । सरकारी निकाय मौन रहेको देख्दा मन चसक्क भएको छ ।'


एक दशकदेखि राष्ट्रिय मिडियामा कला पत्रकारितामा सक्रिय ज्ञवाली पछिल्ला केहि बर्षयता निर्देशन क्षेत्रमा पनि सक्रिय छन् । उनको निर्देशनमा निर्माण भएका डार्क मुन, एक लभर, लक डाउन लगायतका सर्ट फिल्म निकै हिट छन् भने उनी निर्देशित अरु दर्जन सर्ट फिल्मलाई समेत दर्शकले निकै मन पराएका छन् ।हालको अवस्थामा ४ दर्जनको हाराहारी चलचित्रहरु निर्माण सम्पन्न भईसकेका छन् र प्रदर्शनका लागि तयार भएको पनि लगभग करिव दुई वर्ष भईसक्यो, उनले भने, 'यी चलचित्रसँगै यो उद्योगमा कार्यरत चलचित्रकर्मी र संगीतकर्मीको जिवन बचाउमा सरकारको दायित्व हुन्न र ? यो सरकारी निकायको वेवास्ता र हेला हो । यो समग्र नेपाली कला क्षेत्रमा कार्यरत कलाकर्मीका लागि दुखद् खबर हो ।'


निर्देशक तथा संचारकर्मी ज्ञवालीले हालको अवस्थामा झण्डैं डेढ अरबको लगानी जोखिममा भएको भन्दै सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण समेत गराएका छन्। यदि सरकारी निकायको ध्यान समयमै पुग्न नसकेको खण्डमा उद्योग तहशनहश हुनुका साथै यस उद्योगमा कार्यरत हजारौं श्रमिक विदेश पलायन हुने समेत उनको भनाई छ ।हाल कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक, गायिका तथा यो उद्योगबाट आश्रीत कला पत्रकार र कला बिटका पत्रपत्रीका र अनलाइन समेत प्रभावित छन्, उनले थपे, 'यति धेरै जनशक्ती र उनको परिवार आश्रीत यो उद्योगलाई सरकारले कहिल्यैपनि सिरियस रुपमा लिएको छैन । सधै राज्यबाट उपेक्षामा पर्दै गएको छ । यसले समग्र कला उद्योगमा क्रियाशिल व्यक्तिहरुलाई सरकार नभएको हो कि भन्ने भान भएको छ ।'केहि दिन अघि बजेट सार्वजनिक भयो । तर, उक्त बजेटमार्फत चलचित्रकर्मी र संगीत उद्योगको बारेमा सरकारको कुनै संवोधन गरेन, यो जरुरी थियो कि थिएन ? उनले प्रश्न गरे ।


सरकारी निकायलाई पटक पटक सुझाव र सल्लाह तथा गुनासो व्यक्त गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै उनले यदि सरकारी ताल यस्तै हो भने अब यो क्षेत्र एकदशकसम्म उठ्नै नसक्ने गरी थला पर्ने निश्चित रहेको निर्देशक तथा संचारकर्मी ज्ञवालीको भनाई छ ।समग्र कलाकार, निर्देशक, निर्माताहरुको पुनस्स्थापित गर्न एउटा आर्थिक प्याकेजको व्यवस्था बजेटमा राखिनुपर्ने थियो । सरकारले कम्तिमा एक दशकको लागि नीतिगत योजना यो उद्योगका विज्ञ तथा अग्रजहरुसंग छलफल गरी वजेटमा समावेश गरिनु पर्ने हो । तर, यो उद्योगलाई सरकारले कहिल्यै उद्योग मानेन । यहाँ आश्रीत लाखौं श्रमिकलाई कहिल्यै नागरिक ठानेन ।' उनले अन्तिममा गुनासो गरे । भने, 'यो त अत्ति भयो, अब यो उद्योग कसले बचाउँछ ?'

कमेन्ट गर्नुहोस्