
२८ कात्तिक, बुटवल । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा अपेक्षाकृत परिवर्तन आउन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन् ।आफू मन्त्री भएपछि कृषि उत्पादन बढाउने गरी योजना बनाइरहेको र अबको तीन वर्षपछि योजना अनुसारको प्रतिफल देखिन थाल्ने उनले बताए । मन्त्री भुसालले उत्पादन बढाउन व्यक्ति छनोट गरेर अनुदान दिने प्रवृत्ति हटाइएको पनि बताएका छन् ।
लुम्बिनी विशिष्टिकृत सहकारी संघको शुक्रबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रारम्भिक साधारण साभामा बोल्दै मन्त्री भुसालले आफ्ना मान्छेलाई दिँदा कृषि अनुदान अनुत्पादक क्षेत्रमा गएकाले व्यक्ति छानेर अनुदान दिने परिपाटी हटाइएको बताए । उनले मल, बीउ, कृषि औजा, बिजुली, पानी जस्ता कुरामा भने सरकारले अनुदानको व्यवस्था गरेको जानकारी दिए ।मन्त्री भुसालले विगतमा विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताए । विदेशीले देला र कृषि उत्पादन बढाउँला भन्ने सपना पनि देख्न नहुने उनको भनाइ छ । ‘कृषिको विकासमा विदेशीको भरपर्ने मानसिकता हटाउन जरुरी छ’ उनले भने । आर्थिक समृद्धिको मूल आधार कृषि भएकाले कृषिको विकासका लागि कृषि मन्त्रालय अन्तर्गतको बजेट तल्लो तहमा पठाइएको मन्त्री भुसालले जानकारी दिए ।‘सिंहदरबारमा उत्पादन हुँदैन, त्यसैले बजेट तल पठाइएको छ, सहकारी क्षेत्रमार्फत पनि कृषि उत्पादन बढाउने गरी बजेट खर्च गर्न सकिन्छ’–उनले भने ।
संसारमै कृषि गाह्रो पेशा भएको बताउँदै मन्त्री भुसालले कृषि विकासका लागि पुँजी व्यवस्थाको निर्माण गर्नुपर्नेमा जोड दिए । कृषिलाई राज्यले संरक्षण गर्नुपर्ने बताउंँदै उनले कृषि उत्पादनमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।उनले अबको तीन वर्षभित्र खोरेत रोग उन्मुलन गर्ने गरी मन्त्रालयले योजना बनाएको बताउँंदै धानको उन्नत खालको वीउ उत्पादन गर्न ६ वर्ष लाग्ने बताए ।मन्त्री भुसालले अबको ३ वर्षमा धान, गहुँ, मकै, कोदो, फापर लगायत कृषिजन्य वस्तु न्यूनतम बचत हुने गरी भण्डारण गर्न सकिने गरी उत्पादन हुने दावी गरे ।लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट निव्र्याजी ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको बताइन् । उनले तिलोत्तमामा बन्न लागेको दुग्ध परियोजनामा प्रदेश सरकारले सहयोग गर्ने समेत बताइन् ।
कमेन्ट गर्नुहोस्