
तिलोत्तमा,२०७७ कार्तिक ५। सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो ।कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका- २०७७’ पारित गरेको छ ।
निर्देशिकाअनुसार सहकारीहरुले सरकारी अनुदान प्राप्त गर्नका लागि सरकारले तोकेको समर्थन मूल्य तिरेर किसानको धान किन्नुपर्ने छ । कृषि मन्त्रालयले यस वर्षको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल २७३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २८८५ रुपैयाँ तोकेको छ ।सरकारले तोकेको यो मूल्यमा धान किन्ने सहकारीले अनुदानवापत सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ प्राप्त गर्ने मंगलबार पारित निर्देशिकामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्