लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्रिटिस ग्रामर स्कुलको बास्केटबलमा ऐतिहासिक सफलता : महिला र पुरुष दुवै टिमबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व

IMG

करौजिया । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित मोफसलकै एकमात्र क्याम्ब्रिज विद्यालय ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले बास्केटबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको छ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको महिला तथा पुरुष बास्केटबल टिममा ब्रिटिस ग्रामर स्कुलका खेलाडीहरू छनोट भएका छन्। महिला र पुरुष दुवै टिममा विद्यालयका विद्यार्थी छनोट हुनुले विद्यालयको खेलकुद क्षेत्रको उपलब्धिलाई थप उचाइ दिएको छ।


महिला बास्केटबल टिममा विद्यालयका कोमल कार्की (कक्षा ९), रिदम गुरुङ (कक्षा ८) र प्रशिद्धि शर्मा (कक्षा ६) छनोट भएका छन्। त्यसैगरी पुरुष बास्केटबल टिममा कक्षा १२ का अनुभव एसी छनोट भएका छन्।यसैगरी विद्यालयका बास्केटबल प्रशिक्षकद्वय आयुष कुँवर लुम्बिनी बास्केटबल टिमको क्याप्टेन र स्यालोन कुँवर  राष्ट्रिय अफिसियलको जिम्मेवारीका लागि छनोट भएका छन्। यस उपलब्धिले विद्यालयका विद्यार्थी खेलाडी मात्र नभई प्रशिक्षकहरूको समेत प्रदेश तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गरेको छ।


यस ऐतिहासिक सफलताको अवसरमा विद्यालयले आज विशेष कार्यक्रम आयोजना गरी छनोट भएका खेलाडी तथा प्रशिक्षकहरूलाई बधाई ज्ञापन गर्दै आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको गरिमा र प्रतिष्ठा उच्च राख्न प्रेरित गरेका थिए।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहायक प्राचार्य महेश पौडेल क्षेत्रीले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासले यो सफलता सम्भव भएको बताउँदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे।


विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले शैक्षिक उत्कृष्टतासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले समान प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै राष्ट्रिय स्तरमा छनोट हुनु विद्यालयका लागि गौरवको विषय भएको बताए। साथै उनले छनोट भएका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई बधाई दिँदै प्रदेशको शिर उच्च राख्ने गरी उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गरे।


विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय परिवारले खेलाडी तथा प्रशिक्षकहरूको सफलताले आगामी पुस्तालाई समेत खेलकुदप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको थियो।शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आएको ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले हासिल गरेको यस उपलब्धिलाई विद्यालयको मात्र नभई समग्र रुपन्देही तथा लुम्बिनी प्रदेशकै गौरवका रूपमा लिइएको छ।


कमेन्ट गर्नुहोस्