लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले सञ्चालनमा ल्यायो नि:शुल्क मलामी बस,दैनिक ३ देखि ४ स्थानमा सेवा

IMG

तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नि:शुल्क मलामी बस सञ्चालनमा ल्याएको छ । नगरभित्रका विपन्न परिवारका सदस्य मृत्यु हुँदा शव घाटसम्म पुर्‍याउन मलामी बसको सेवा शुक्रबारबाट शुरू गरिएको हो ।नागरिकको जन्मदेखि मृत्युसम्म स्थानीय सरकारको साथ हुनुपर्छ भन्ने अवधारणासहित तिलोत्तमा नगरपालिकाले अन्तिम यात्रा बस सेवा शुरू गरेको नगरप्रमुख रामकृष्ण खाणले बताए ।


नगरपालिकाले यो पहललाई ‘कोखदेखि शोकसम्म’ भन्ने भावनासँग जोडेको छ । आर्थिक अवस्था कमजोर भएका तथा सार्वजनिक यातायातको सहज पहुँच नभएका परिवारका लागि यो सेवा थप उपयोगी हुने अपेक्षा गरिएको छ ।खाणले नागरिकको सुखमा मात्र होइन, दु:ख र शोकको समयमा समेत स्थानीय सरकार उनीहरूसँगै उभिनुपर्ने बताउँदै सेवा शुरू गरिएको जानकारी दिए ।


नागरिकको जीवनका महत्त्वपूर्ण चरणमा स्थानीय सरकारको जिम्मेवारी र उपस्थिति देखाउने उद्देश्यले अघि बढाइएको यो कार्यक्रमलाई मानवीय सेवाको उदाहरणका रूपमा हेरिएको छ ।विशेषगरी परिवारको कुनै सदस्यको निधनपछि ठूलो संख्यामा आफन्त तथा शुभेच्छुकलाई घाटसम्म पुर्‍याउनुपर्ने अवस्थामा यातायातको समस्या हुने गरेको छ।नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले नागरिकको दु:खमा साथ दिने र अन्तिम यात्रासम्म सहारा बन्ने अवधारणा अनुसार बस सेवा शुरू गरिएको बताए।

निशुल्क मलामी बस सुचारु भएपछी दैनिक ३ देखि ४ स्थानमा सेवा दिईरहेको नगरपालिकाले जनाएको छ। 

तस्बीर : सुरज पाण्डे 

कमेन्ट गर्नुहोस्