लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गरिमाको न्यायका लागि मणिग्राममा युवा र महिलाको आन्दोलन चर्कियो, दोषीलाई कडा कारबाहीको माग

IMG

मणिग्राम। बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि गरिएको क्रूर हत्याको विरोधमा तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा युवा तथा महिलाहरूले विरोध सभा आयोजना गरेका छन्।


बालिका गरिमाको न्याय र हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय युवा तथा महिलाहरू सडकमा उत्रिएका हुन्। विरोध सभामा सहभागीहरूले घटनाप्रति आक्रोश व्यक्त गर्दै अब कुनै पनि बालिका असुरक्षित हुन नपर्ने गरी कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन्।विरोध कार्यक्रममा युवाहरूको तर्फबाट विवेक भण्डारीले आफ्नो धारणा राख्दै बालबालिकामाथि हुने यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा र प्रभावकारी कारबाही हुनुपर्ने बताए। त्यस्तै स्थानीय महिलाहरूले पनि बालिकाको सुरक्षाका लागि राज्यले अझ कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रममा सहभागीहरूले “हत्यारालाई कारबाही गर”, “हत्यारालाई फाँसी दे”, “कानुन संशोधन गर”, “दोषीमाथि कारबाही गर” लगायतका नारा लगाएका थिए। केही सहभागीहरूले यस्ता क्रूर अपराधका दोषीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने मागसमेत गरेका थिए।विरोध सभासँगै सहभागीहरूले मौनधारण गरेका थिए। त्यसपछि मणिग्राम चोकदेखि नयाँमिलसम्म विरोध र्याली निकालिएको थियो। र्यालीमा ठूलो संख्यामा युवा तथा स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।आन्दोलनमा सहभागीहरूले गरिमाको हत्यामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई कठोर कारबाही गर्न माग गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित हुने गरी कानुनी व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्