
सगरहवा। रुपन्देहीको तिलोत्तमामा थारु कल्याणकारिणी सभा तिलोत्तमाको आयोजनामा नागपञ्चमी तथा गुड्डीन पर्व मनाइएको छ। तिलोत्तमा– १० सगरहवामा आयोजित कार्यक्रममा थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचान झल्कने विभिन्न गतिविधिसहित गुड्डीन मेला समेत आयोजना गरिएको हो।
कार्यक्रममा थारु कल्याणकारिणी सभा तिलोत्तमाकी अध्यक्ष आशा चौधरीले नागपञ्चमी तथा गुड्डीन पर्वको गरिमा र मौलिकता जोगाउन थारु समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले आफ्नो कला, संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि समुदायका सबै व्यक्ति सक्रिय रूपमा समाहित हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमकी प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले नागपञ्चमी तथा गुड्डीन पर्व थारु समुदायका प्रमुख पर्वमध्ये पहिलो पर्व तथा पर्वको सुरुवातका रूपमा मानिने बताउनुभयो। उहाँले यस पर्वले थारु जातिको मौलिक पहिचान, कला, संस्कृति र रहनसहनको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। थारु समुदायको संस्कृति र पहिचानलाई अझ बलियो बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
थारु कल्याणकारिणी सभाका सचिव दिनानाथ कँवरले नागपञ्चमी तथा गुड्डीन पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे जानकारी गराउनुभयो। उहाँले पुस्तौँदेखि चलिआएको यस पर्व मनाउने परम्परा, यसको महत्व र मौलिक संस्कृतिबारे प्रकाश पार्नुभयो।
थारु समुदायमा यस पर्वका अवसरमा महिलाले गुड्डीन र पुरुषले लठ्ठी ल्याई नदीमा विसर्जन गर्ने परम्परा रहेको छ। गुड्डीनलाई लठ्ठीले हानेर पानी छ्याप्ने प्रचलनसमेत यस पर्वको विशेष संस्कृतिका रूपमा रहेको छ। यस अवसरमा विभिन्न मन्दिरमा लावा, दूध र काँचो चना चढाउने चलन रहेको छ भने चना, पुरी,गुलगुल्ला लगायतका परिकार बनाएर खाने परम्परा पनि छ।नागपञ्चमी तथा गुड्डीन पर्वका अवसरमा नदीको तट, डिउहार मन्दिर तथा मेला लाग्ने स्थानमा भव्य मेला आयोजना गर्ने परम्परा रहेको छ। सगरहवामा आयोजित मेलामा पनि स्थानीय थारु समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा तिलोत्तमा–१७ का वडा अध्यक्ष दानबहादुर चौधरी, वडा नं. १२ का अध्यक्ष सहदेव थारु, कार्यपालिका सदस्य देवकी थारु, वडा सदस्य सन्तबहादुर चौधरी, रामकुमार कुँवर, थारु कल्याणकारिणी सभाका जिल्ला सदस्य तथा तिलोत्तमा–१० का निबर्तमान वडा अध्यक्ष व्यासमुन थारु, बढघर तिलोत्तमा नगर समितिका अध्यक्ष अयोध्या थारु, मानबहादुर थारु, रामनारायण चौधरी, महुवारी प्रहरी चौकीका इन्चार्ज जितेन्द्र जिसी, सन्जु चौधरीलगायतको उपस्थिति थियो।कार्यक्रमको सञ्चालन थारु कल्याणकारिणी सभाका सहसचिव धनबहादुर चौधरीले गर्नुभएको थियो।सो पर्वको अवसरमा थारु महिला तथा पुरुष हरु आफ्नो रहनसहन सहितको भेषभुसा झल्किने झाँकी सहित पोशाकमा नाचगान सहित उपस्थित रहेका थिए।
कमेन्ट गर्नुहोस्