लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एकल महिलाको तीज मिलन तथा भेटघाट कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा– स्वाभिमानका लागि एकल महिला मञ्च तिलोत्तमा नगर कमिटीको आयोजनामा तीज मिलन तथा भेटघाट कार्यक्रम शनिबार वनबाटिकामा सम्पन्न भएको छ।


मञ्चकी नगर कमिटी अध्यक्ष गीता पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका एकल महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको थियो।


कार्यक्रममा तिलोत्तमा–१ का वडा अध्यक्ष फर्सुराम गिरी, वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, वडा नं. ६ का वडा अध्यक्ष गणेश पाठक, वडा नं. १० का वडा अध्यक्ष गोपालप्रसाद घिमिरे, वडा नं. १३ का वडा अध्यक्ष नारायण ढकाल, संयुक्त भूपू सैनिक संघका अध्यक्ष डोरबहादुर थापा तथा शीतल चौपारीका अध्यक्ष क्याप्टेन नरबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाणले एकल महिलाहरूको आत्मसम्मान, अधिकार र सामाजिक सुरक्षाका लागि स्थानीय सरकार सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले तीजजस्ता सांस्कृतिक पर्वले महिला दिदीबहिनीबीच आत्मीयता, एकता र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै एकल महिलाहरूलाई सामाजिक रूपमा अझ सशक्त र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो।


अध्यक्ष गीता पौडेलले एकल महिलाहरूलाई एक्लोपनको अनुभूति हुन नदिन तथा उनीहरूका समस्या र अधिकारका विषयमा सामूहिक रूपमा आवाज उठाउन मञ्चले निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले तीज मिलन तथा भेटघाट कार्यक्रमले नगरका विभिन्न वडामा रहेका एकल महिलाबीच परिचय, आत्मीयता र एकताको भावना थप बलियो बनाएको उल्लेख गर्नुभयो।


कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीत तथा नृत्य प्रस्तुत गरेका थिए। तीज गीत प्रतियोगितामा सहभागीहरूले सामाजिक विकृति, महिला अधिकार, आत्मनिर्भरता तथा समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सबै वडाबाट सहभागी एकल महिलाहरूले आपसमा शुभकामना तथा खुसी साटासाट गरेका थिए।


कमेन्ट गर्नुहोस्