लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको पूर्वाधार विकासमा तीव्रता, ठूला आयोजनामा सगुन कन्स्ट्रक्सनको प्राथमिकता

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पछिल्लो समय ठूला तथा महत्वपूर्ण पूर्वाधार निर्माणका आयोजनाले गति लिन थालेका छन्। सडक, नाली, अस्पताल तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। ठूला आयोजनाको निर्माणमा सक्रिय सगुन कन्स्ट्रक्सनले तिलोत्तमा क्षेत्रमा एकैपटक विभिन्न महत्वपूर्ण परियोजनामा कामलाई तीव्रता दिएको छ।


तिलोत्तमाको ड्राइभरटोल–शिवपुर सडकखण्डमा अहिले सडक निर्माणसँगै नाली निर्माण तथा सडकको दुवैतर्फ ढुंगा लगाउने काम तीव्र रूपमा भइरहेको छ। सडकको संरचना बलियो बनाउने, पानी निकासको उचित व्यवस्था गर्ने तथा सडकलाई व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यले निर्माणका विभिन्न चरणका काम एकसाथ अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ।


यसैगरी पथ्थरडाँडा–तिनाउ सडक आयोजना पनि सगुन कन्स्ट्रक्सनको प्राथमिकतामा परेको छ। करिब ८४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना १५.५ किलोमिटर लामो रहेको बताइएको छ। आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणस्थलमा आवश्यक जनशक्ति, उपकरण तथा मेसिन परिचालन गरिएको छ। सडक निर्माणका विभिन्न चरणलाई समानान्तर रूपमा अघि बढाइएकाले आयोजनाले क्रमशः गति लिँदै गएको छ।


तिलोत्तमामै निर्माणाधीन १५ शैयाको बीपी ग्राम तथा आनन्दवन नगर अस्पतालको कामसमेत अन्तिम चरणतर्फ अघि बढेको छ। अस्पताल भवनमा रङरोगन, टायल लगाउने, फिनिसिङलगायतका काम भइरहेको छ। अस्पतालको भौतिक संरचना निर्माणपछि स्थानीय नागरिकले आफ्नै नगरभित्र थप व्यवस्थित स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। अस्पतालजस्तो संवेदनशील सार्वजनिक पूर्वाधारको निर्माणमा गुणस्तर र समय व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको निर्माण पक्षको भनाइ छ।


यसअघि सगुन कन्स्ट्रक्सनले मंगलापुर–कान्छीबजार सडक आयोजना सम्पन्न गरिसकेको छ। सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने नागरिकलाई सहजता भएको छ। सडक पूर्वाधारमा भइरहेको निरन्तर सुधारले तिलोत्तमाका विभिन्न बस्ती तथा बजार क्षेत्रबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।


मंगलापुर–कान्छीबजार सडकसहितका केही आयोजना एसियाली विकास बैंक (एडीबी) तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अघि बढेका हुन्। अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोग र स्थानीय सरकारको समन्वयमा सञ्चालन भइरहेका यस्ता आयोजनाले नगरको पूर्वाधार विकासलाई नयाँ चरणमा लैजाने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभएको छ। त्यसो त निर्माण कम्पनीका अनुसार दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको छ। त्यसका लागि निर्माणस्थलमा पर्याप्त कामदार तथा आवश्यक मेसिनरी उपकरण परिचालन गरिएको छ। निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले विभिन्न चरणका कामलाई प्राथमिकताका आधारमा अघि बढाइएको छ।


तिलोत्तमा क्षेत्रमा निर्माण भइरहेका सडक आयोजनामा अहिले सडकको संरचना निर्माणदेखि नाली, ढुंगा बिछ्याउने, फिनिसिङ तथा सडक व्यवस्थापनसम्मका काम एकसाथ सञ्चालनमा छन्। निर्माणस्थलमा कामदार र मेसिनको सक्रियता बढेसँगै विकास निर्माणको गतिविधि पनि बाक्लिएको देखिन्छ।


यसैबीच तिलोत्तमा क्षेत्र हुँदै जाने हाइवेमा समेत बाटो मार्किङ गर्ने काम भइरहेको छ। सडकमा लेन तथा अन्य आवश्यक मार्किङको कामले सवारी आवागमनलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै सडक सुरक्षासँग सम्बन्धित पूर्वाधारमा समेत ध्यान दिन थालिएको ठेक्का लिएको निर्माण पक्षले जनाएको छ।


सगुन कन्स्ट्रक्सनका प्रोजेक्ट हेड शित्तल ज्ञवालीका अनुसार निर्माणाधीन आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आयोजनाको प्रकृति र आवश्यकताअनुसार कामदार तथा मेसिन परिचालन गरिएको र निर्माणको गुणस्तरमा समेत विशेष ध्यान दिइएको उनले जानकारी दिए।उनका अनुसार ठूला आयोजना निर्माण गर्दा समयमै काम सम्पन्न गर्नुका साथै संरचनाको दीर्घकालीन उपयोगिता र गुणस्तरलाई प्राथमिकता दिइएको छ। निर्माणस्थलमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय विषयलाई तत्काल सम्बोधन गर्दै कामलाई निरन्तर अघि बढाउने प्रयास भइरहेको छ।


तिलोत्तमा पछिल्लो समय तीव्र शहरीकरण हुँदै गएको नगरपालिका हो। जनसंख्या वृद्धि, नयाँ बस्तीको विस्तार र आर्थिक गतिविधि बढ्दै जाँदा सडक, नाली, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक पूर्वाधारको माग पनि बढ्दो छ। यही आवश्यकतालाई सम्बोधन गर्न नगर क्षेत्रमा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको छ।


नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सडक पूर्वाधारको विस्तार र स्तरोन्नतिले नगरका ग्रामीण तथा बजार क्षेत्रलाई जोड्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, यातायातको सहजता र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। त्यसैगरी अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारको विकासले नगरवासीलाई आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने समेत उहाँले विश्वास ब्यक्त गर्नुभयो ।


तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरका विभिन्न क्षेत्रहरुमा एकैपटक धेरै ठूला आयोजना निर्माणमा जाँदा निर्माणस्थलमा केही समयका लागि धुलो, सवारी व्यवस्थापन तथा आवतजावतमा असहजता देखिए पनि दीर्घकालीन रूपमा त्यसबाट प्राप्त हुने पूर्वाधार र सुविधाले नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभएको छ। साझा सहयोगले मात्रै बिकास निर्माण कार्यमा तिब्रता हुने हुँदा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो। 


तिलोत्तमामा अहिले देखिएको निर्माणको सक्रियताले नगरको पूर्वाधार विकासले नयाँ गति लिएको संकेत गरेको छ। सडकदेखि स्वास्थ्य संस्थासम्मका ठूला आयोजना समयमै सम्पन्न गर्न सकिएमा तिलोत्तमाको भौतिक संरचना थप व्यवस्थित हुनुका साथै नगरको शहरी विकासलाई समेत थप बल पुग्ने देखिन्छ।निर्माणाधीन आयोजनालाई निर्धारित समय र मापदण्डअनुसार सम्पन्न गर्न निर्माण कम्पनी, नगरपालिका तथा सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक देखिन्छ। यसका साथै निर्माणको गुणस्तर, सडक सुरक्षा, वातावरणीय व्यवस्थापन तथा स्थानीय नागरिकको सहजतालाई समेत सँगसँगै अघि बढाउन सके तिलोत्तमामा भइरहेको पूर्वाधार विकास अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्