लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाभैरव भजन तिलोत्तमाले कालिकास्थान गुन्जायो, युवाको भव्य सहभागिता

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ कालिकास्थानमा धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाउँदै महाभैरव भजन तिलोत्तमा सम्पन्न भएको छ। भजन कार्यक्रममा स्थानीय युवायुवती, महिला तथा विभिन्न उमेर समूहका भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।


कालिका कृषि सहकारी संस्था, कालिका टोल विकास संस्था र मिर्मिरे स्वास्थ्य आमा समूहको आयोजनामा सम्पन्न कार्यक्रममा भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै धार्मिक उत्साह र उमङ्ग साटेका थिए। कार्यक्रममा सहभागीहरूका कारण कालिकास्थान क्षेत्र नै भजनमय बनेको थियो।विशेषगरी कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। पछिल्लो समय युवापुस्तामा भजन, कीर्तन तथा धार्मिक–सांस्कृतिक गतिविधिप्रति रुचि बढाउँदै लैजाने उद्देश्यले महाभैरव भजन तिलोत्तमाले विभिन्न स्थानमा नियमित रूपमा भजन कार्यक्रम सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ।


कार्यक्रममा सहभागी भक्तजनहरूले सामूहिक रूपमा भजन गाउँदै तथा ताली बजाउँदै धार्मिक वातावरण निर्माण गरेका थिए। भजनसँगै स्थानीय समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने प्रयाससमेत गरिएको आयोजकको भनाइ छ।महाभैरव भजन तिलोत्तमाले धार्मिक गतिविधिलाई मनोरञ्जनसँग मात्र सीमित नराखी युवाहरूलाई सकारात्मक सामाजिक तथा सांस्कृतिक गतिविधिमा जोड्ने अभियानका रूपमा भजन कार्यक्रमलाई अघि बढाउँदै आएको जनाएको छ। नियमित भजनका माध्यमबाट नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक संस्कारसँग जोड्ने प्रयास भइरहेको आयोजकको भनाइ छ।


कार्यक्रममा स्थानीय बासिन्दा तथा भक्तजनहरूको उत्साहजनक सहभागिताले आयोजकलाई थप ऊर्जा प्रदान गरेको संयोजक पुजन केसीले बताए। उनका अनुसार महाभैरव भजन तिलोत्तमाले हरेक सोमबार तिलोत्तमा नगरपालिका तथा आसपासका विभिन्न मन्दिरमा पुगेर नियमित रूपमा भजन–कीर्तन गर्दै आएको छ।हरेक सोमबार फरक–फरक धार्मिक स्थलमा भजन आयोजना गर्दै जाने क्रममा कालिकास्थानमा पनि कार्यक्रम गरिएको आयोजकका तर्फबाट गणेश भुसालले जानकारी दिए । भजन कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने काम गरेको आयोजकको विश्वास छ।

कमेन्ट गर्नुहोस्