लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा हल्का सवारी चालक तालिम सम्पन्न, ४८ जना प्रशिक्षित

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी सञ्चालन गरेको एकमहिने हल्का सवारी चालक तालिम सम्पन्न भएको छ। नगरपालिकाको विनियोजित बजेटमार्फत सञ्चालन गरिएको तालिममा ४८ जना युवा प्रशिक्षित भएका छन्।


तालिम समापन कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले वैदेशिक रोजगारबाट फर्किएका युवालाई सीपसँग जोडेर स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले सीपमूलक तालिमलाई व्यवहारमा उतार्दै प्रशिक्षित युवाले आफ्नै व्यवसाय सञ्चालन गर्न वा रोजगारीको अवसर प्राप्त गर्न सक्ने बताए।नगर उपप्रमुख जागेश्वर देवी चौधरीले युवालाई आत्मनिर्भर बनाउन सीप र दक्षता महत्वपूर्ण रहेको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्दै स्वरोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह गरिन्। युवाको सीप विकासमार्फत स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउन सकिने उनको भनाइ थियो।


प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमको मुख्य उद्देश्य तालिममा सहभागीलाई प्रमाणपत्रमा मात्र सीमित नराखी रोजगारी र स्वरोजगारसँग जोड्नु रहेको बताए। उनले प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई निरन्तर अभ्यास गर्दै आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए। स्थानीय आवश्यकता र बजारको मागअनुसार आगामी दिनमा पनि सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइने उनको भनाइ थियो।


तालिममा सहभागी युवाहरूले एक महिनाको प्रशिक्षणले सवारी सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान र आत्मविश्वास बढाएको भन्दै आगामी दिनमा स्वरोजगारको बाटो तय गर्न सहयोग पुग्ने बताएका छन्।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता घिमिरे, रोजगार संयोजक शंकर पन्थी तथा प्रशिक्षण संस्था  लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रालि.का अरुण अर्याल लगायतको सहभागिता रहेको थियो।


नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गर्दै सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। हल्का सवारी चालक तालिमबाट प्रशिक्षित ४८ जना युवाले प्राप्त सीपलाई रोजगारी तथा स्वरोजगार बन्न प्रयत्नशिल हुनुपर्ने नगरपालिकाले जनाएको छ। 

कमेन्ट गर्नुहोस्