लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शित्तल चौपारीमा साउन महिनाको हरित उपस्थिति, स्वास्थ्यसँगै संस्कृतिको जगेर्ना

IMG

तिलोत्तमा । साउन महिनाको अवसरमा शित्तल चौपारीमा हरियो पहिरनको आकर्षक उपस्थिति देखिएको छ। दैनिक हजारौँ नागरिकको सहभागिता रहने शित्तल चौपारीमा बिहानको नृत्य, शारीरिक व्यायाम तथा जुम्बा कार्यक्रममार्फत स्वास्थ्य प्रवर्द्धनसँगै नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने अभियान सञ्चालन भइरहेको छ।


साउन महिनाको सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै सहभागीहरू हरियो पोसाकमा उपस्थित भएका छन्। हरियाली, उत्साह र सांस्कृतिक पहिचान झल्काउने यस अभियानले शित्तल चौपारीको वातावरणलाई थप आकर्षक र उल्लासमय बनाएको छ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख पनि हरियो पोसाकमा सहभागी हुँदै बिहानको नृत्य, शारीरिक व्यायाम तथा जुम्बामा सक्रिय बनेका थिए। नगर प्रमुखको सहभागिताले स्वास्थ्यप्रति नागरिकलाई सचेत र सक्रिय बनाउन थप प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।तिलोत्तमा नगरपालिका-२ शित्तल चौपारी व्यवस्थापन समितिका संयोजक क्याप्टेन नरबहादुर कार्कीको संयोजन तथा उपसमिति संयोजक तेजेन्द्र पौडेलको सक्रियतामा कार्यक्रम सञ्चालन भइरहेको छ। नियमित रूपमा हजारौँको उपस्थिति रहने शित्तल चौपारी स्वास्थ्य, मनोरञ्जन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणको साझा थलोका रूपमा स्थापित हुँदै गएको छ।


आयोजकका अनुसार बिहानको नियमित व्यायाम, नृत्य र जुम्बाले शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। साउन महिनामा हरियो पहिरनसहितको सहभागिताले परम्परा र आधुनिक स्वास्थ्य अभ्यासलाई एकैसाथ जोड्ने अवसर प्रदान गरेको छ।शित्तल चौपारीमा देखिएको यो हरित उपस्थिति स्वास्थ्यसँगै संस्कृति, सामाजिक एकता र सकारात्मक जीवनशैलीको सन्देश बनेको छ।

कमेन्ट गर्नुहोस्