लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्षेत्री समाज नेपाल तिलोत्तमा नगरसमितिद्वारा आयोजित पञ्चेबाजा तालिम सम्पन्न, महिलाको सक्रिय सहभागिताले परम्परागत संस्कृतिको संरक्षणमा नयाँ ऊर्जा

IMG

तिलोत्तमा। क्षेत्री समाज नेपाल तिलोत्तमा नगरसमितिको आयोजनामा सञ्चालन गरिएको पञ्चेबाजा तालिम बुधबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका–स्थित ड्राइभरटोल सभाहलमा आयोजित समापन कार्यक्रममा तालिममा सहभागी महिलाहरूले आफूहरूले सिकेको पञ्चेबाजा प्रस्तुत गर्दै ड्राइभरटोलदेखि विष्णुपुरसम्म सांस्कृतिक परिक्रमा गरेका थिए। महिलाहरूले पञ्चेबाजा बजाउँदै सो स्थान परिक्रमा गर्दा स्थानीयवासीको उल्लेखनीय आकर्षण देखिएको थियो।


कार्यक्रममा क्षेत्री समाज नेपाल तिलोत्तमा नगरसमितिकी अध्यक्ष रुपा केसीको अध्यक्षता रहेको थियो भने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगर उपप्रमुख जागेश्वर देवी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा क्याप्टेन नरबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि १७ सम्मका अध्यक्ष तथा प्रतिनिधिहरू, क्षेत्री समाजका पदाधिकारी, विभिन्न आमा समूहका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।


समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाणले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा पञ्चेबाजाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो। उहाँले परम्परागत बाजा र संस्कृतिको संरक्षण केवल कुनै एक समुदायको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताउनुभयो। पञ्चेबाजा जस्तो परम्परागत बाजामा महिलाको सहभागिताले लैङ्गिक समानताको सन्देश मात्र नभई सांस्कृतिक संरक्षण अभियानलाई समेत थप मजबुत बनाएको उहाँको भनाइ थियो।  


विशिष्ट अतिथि नगर उपप्रमुख जागेश्वर देवी चौधरीले महिलाहरूले पञ्चेबाजा बजाउने सीप हासिल गरी सार्वजनिक रूपमा प्रस्तुति दिनु सांस्कृतिक रूपान्तरणको सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि नगर उपप्रमुख चौधरीले व्यक्त गर्नुभयो। यस्ता सीपमूलक तथा सांस्कृतिक तालिमले सामाजिक एकता, आत्मविश्वास र सामुदायिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो।


कार्यक्रमकी अध्यक्ष रुपा केसीले तालिम सफल बनाउन सहयोग गर्ने तिलोत्तमा नगरपालिका, प्रशिक्षक, सहभागी, अतिथि तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले महिलाहरूलाई सांस्कृतिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम अत्यन्त सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। परम्परागत संस्कृतिलाई पुस्तान्तरण गर्दै जीवित राख्न समाजका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले जोड दिनुभयो।


कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपाली मौलिक संस्कृति, कला र परम्पराको संरक्षणका लागि समुदायस्तरमा यस्ता प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले पञ्चेबाजालाई विवाह, धार्मिक तथा सामाजिक समारोहमा सीमित नराखी नयाँ पुस्तामाझ परिचित गराउन आवश्यक रहेको बताए। महिलाहरूको सक्रिय सहभागिताले परम्परागत रूपमा पुरुषको क्षेत्रमा सीमित मानिएको पञ्चेबाजालाई नयाँ आयाम दिएको वक्ताहरूको भनाइ थियो।


समापन समारोहको मुख्य आकर्षण तालिममा सहभागी महिलाहरूको सामूहिक पञ्चेबाजा प्रस्तुति रह्यो। उनीहरूले ड्राइभरटोलदेखि विष्णुपुरसम्म सांस्कृतिक परिक्रमा गर्दै नेपाली मौलिक बाजाको मनमोहक प्रस्तुति दिएका थिए। स्थानीयवासीले बाजागाजासहितको सांस्कृतिक र्‍यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। कार्यक्रमले तिलोत्तमामा मौलिक संस्कृति संरक्षण, महिला सशक्तीकरण तथा सामाजिक एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।



कमेन्ट गर्नुहोस्