
तिलोत्तमा - दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चितताका लागि आयोजना गरिएको ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८३’ सम्पन्न भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुईदिने उत्सव सोमबार सकिएको हो ।
ज्ञान उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक समारोहबीच समापन गरेका हुन् । ज्ञान उत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याएको समेत बताए । तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमुना काम गरेको पनि मन्त्री तिमिल्सेनाको भनाइ छ ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरलाई मानवताको सहर बनाउने अभियान अन्तर्गत तेस्रो वर्षको दलित ज्ञान उत्सव सफलतापूर्वक सम्पन्न गरिएको बताए ।यसअघि ज्ञान उत्सव कार्यक्रममा आइतबार विभिन्न सत्रमा बहस तथा छलफल गरिएको थियो ।पहिलो दिन विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती गरिएको थियो।
त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल भएकोे जनाइएको छ।बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।
उत्सवले दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याएको र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन यो कार्यक्रम आयोजना गरेको कार्यपालिका सदस्य एवम सामाजिक विकास समिती सभापति रवि सेन्चुरीले बताए । न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित दुई दिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्