
तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा आईएसओ (ISO) सर्टिफाइड नगरपालिकाको मापदण्ड, सेवा प्रवाहको गुणस्तर तथा यसको दिगोपनाका विषयमा जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गरी आईएसओ सर्टिफाइड सम्बन्धी गाइडलाइन सचेतना कार्यक्रम सम्पन्न भएको छ।
तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रमाणीकरण प्राप्त नगरपालिकाले पालना गर्नुपर्ने मापदण्ड, गुणस्तरीय सेवा प्रवाह, अभिलेख व्यवस्थापन, सेवाग्राहीमैत्री कार्यशैली तथा निरन्तर सुधारका उपायबारे अभिमुखीकरण गरिएको थियो।
तिलोत्तमा नगरपालिका आईएसओ सर्टिफाइड नगरपालिका भइसकेपछि त्यसको मर्म, मापदण्ड र कार्यप्रणालीलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय, पारदर्शी, उत्तरदायी र दिगो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीलाई आईएसओका मापदण्ड अनुरूप दैनिक कार्यसम्पादन, सेवा प्रवाहमा एकरूपता कायम गर्ने, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्ने तथा संस्थागत सुधारलाई निरन्तरता दिने विषयमा जानकारी प्रदान गरिएको थियो।
नगरपालिकाले आईएसओ प्रणालीको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, गुणस्तरीय सार्वजनिक सेवा र सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कमेन्ट गर्नुहोस्