
कुञ्जलापुर। रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए । उनले तिलोत्तमा ज्ञान उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा यसले विभेदमुक्त नगर र सामाजिक न्यायलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खलेको बताए । नगरप्रमुख खाँणले आगामी दिनमा जनजाति समुदायको पनि यही स्वरूपको कार्यक्रम गर्ने तयारी भइरहेको बताए ।
तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले तिलोत्तमा दलित ज्ञान उत्सवमा बौद्धिक बहसदेखि दलित समुदायको ज्ञानका बिषयमा छलफल गर्ने गरिएको बताए । उनले यो पटक विभिन्न सेसनहरु मार्फत छलफल गर्नेदेखि लिएर विभेद विरुद्ध चित्रकला र कविता समेत राखिएको जानकारी दिए ।पत्रकार सम्मेलनमा सामाजिक विकास समिति संयोजक तथा ज्ञान उत्सवका संयोजक समेत रहेका रवि सेन्चुरीले कार्यक्रमले समानता र सामाजिक न्याय एव्म समुदायमा जातीय अन्तरघुलनको लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले जतीय कुसंस्कार अन्त्य गरी दलित समुदायको सवालमा नेपालमै स्थगानीय सरकारले बहस पैरवी गर्ने प्रयास तिलोत्तमाले गरेको बताए । आयोजकका अनुसार आईतबार एक समारोहका विच उद्घाटन हुनेछ ।
पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले समापन गर्ने कार्यतालिका रहेको छ । पहिलो दिन विभेद विरूद्ध चित्रकला, संरचनात्मक लाभाश र उत्पीडनका मुद्धा, विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र इतिहार, विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती रहनेछ ।
त्यस्तैगरी दोस्रो दिन असार २२ गते सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल हुनेछ । तिलोत्तमा नगरपालिकाले प्रत्येक बर्ष नीति कार्यक्रम र बजेट व्यवस्था गरी तिलोत्तमा दलित ज्ञान उत्सव गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्