लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–नारायणगढ सडक : गुणस्तर सुधार्न पहल सुरु

IMG

परासी, असार १७ गते । एसियाली राजमार्गको मापदण्ड अनुसार स्तरोन्नति भइरहेको बुटवल–नारायणगढ सडक आयोजनाको दाउन्ने पश्चिम खण्डमा निर्माणका क्रममा गम्भीर प्राविधिक त्रुटि देखिएपछि त्यसको सुधारका लागि आयोजना कार्यालय र निर्माण कम्पनी छलफलमा जुटेका छन् । निर्माण सम्पन्न गर्ने अन्तिम समयसीमा नजिकिँदै गर्दा सडकको गुणस्तरमाथि प्रश्न उठेपछि सुधारात्मक कामलाई तीव्र बनाइएको हो ।


निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी २०८३ साउन ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ तर अन्तिम चरणमा पुगेको निर्माण कार्यका बिच कतिपय स्थानमा सडकको तल्लो संरचना कमजोर हुँदा दलदल हुने तथा कालोपत्रे गरिएको सडकको सतह एकरूपता नहुँदा सवारीसाधन उफ्रिने समस्या देखिएको छ । यसले यात्रुको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । आयोजनाका प्राविधिकका अनुसार भौगोलिक जटिलता र निर्माणका क्रममा देखिएका प्राविधिक कमजोरीका कारण केही स्थानमा प्रारम्भिक डिजाइनमा नै परिमार्जन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । गुणस्तरमा सम्झौता नगरी समस्या समाधान गर्ने गरी निर्माण कम्पनीसँग समन्वय भइरहेको जनाइएको छ ।


निर्माण कम्पनीले करिब ८९ प्रतिशतभन्दा बढी रकम भुक्तानी लिइसक्दा पनि सडकको अवस्था अपेक्षा अनुसार नभएको भन्दै स्थानीयवासी र सरोकारवालाले चर्को आलोचना गर्दै आएका छन् । आयोजना कार्यालय (पश्चिम खण्ड) का प्रमुख पशुपति ज्ञवालीले सडकमा देखिएका सबै प्राविधिक समस्या समाधान गर्दै निर्माणको गुणस्तर सुधार्न निर्माण कम्पनीसँग निरन्तर छलफल र प्राविधिक समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार कमजोरी देखिएका स्थानको पहिचान गरी सुधारको काम अघि बढाइएको छ ।


दाउन्ने क्षेत्र पर्ने नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विक्रम खनालले निर्माणमा देखिएका सबै त्रुटि पूर्ण रूपमा सच्याएपछि मात्रै बाँकी काम अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।    

कमेन्ट गर्नुहोस्