लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा उत्कृष्ट तीन कृषक नगदसहित सम्मानित

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्‍याएका तीन जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ।नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपप्रमुख जागेश्वर देवी चौधरी, वडा नं. ६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, राधा शाही र रवि सेन्चुरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, पशु शाखा प्रमुख राजु कुँवर मगर तथा सामाजिक विकास शाखा प्रमुख विनोद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख राजु कुँवर मगरले गर्नुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाणले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान गरिएको बताउनुभयो। उहाँले कृषकको सम्मानले अन्य किसानलाई समेत व्यावसायिक कृषि तथा पशुपालनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा कृषकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि अनुदान, प्रविधि र आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


कृषि शाखा प्रमुख दोमलाल भुसालले नगरपालिकाले उत्पादन, नवप्रवर्तन र व्यावसायिकताको आधारमा उत्कृष्ट कृषक छनोट गरिएको जानकारी दिनुभयो। कृषकलाई सम्मान गर्ने परम्पराले कृषि पेशाप्रति आकर्षण बढ्नुका साथै उत्पादनमुखी गतिविधिलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो।कार्यक्रममा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका तिलोत्तमा–१४ का कृषक पन्निलाल केवट, हरिओम दुग्ध संकलन केन्द्र, तिलोत्तमा–६ का कृषि उपज उद्यमी हरि प्रसाद न्यौपाने तथा तिलोत्तमा–३ का पशुपालक कृषक हरि प्रसाद भुसाललाई सम्मानपत्र, दोसल्ला तथा जनही रु. ५० हजार नगदसहित सम्मान गरिएको थियो।


नगरपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गर्दै कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यावसायिक, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्