
तिलोत्तमा – तिलोत्तमा नगरपालिकाको "महिलासँग तिलोत्तमा" कार्यक्रम अन्तर्गत लक्षित वर्गका महिला समूहका सदस्यहरूका लागि कानुनी सचेतना तालिम सञ्चालन गरिएको छ। महिलाहरूलाई आफ्नो अधिकार, कानुनी व्यवस्था तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाबाट सहभागी भएका लक्षित वर्गका महिला समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिमका प्रमुख प्रशिक्षक अधिवक्ता केशव चौधरीले महिलाहरूले आफ्नो अधिकार र कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी राख्न आवश्यक रहेको बताउनुभयो। उहाँले घरेलु हिंसा, लैङ्गिक हिंसा, सम्पत्ति अधिकार, नागरिक अधिकार तथा कानुनी उपचारका प्रक्रियाबारे सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो। "कानुनी सचेतना महिलाहरूको सशक्तीकरणको महत्वपूर्ण आधार हो। आफ्नो अधिकारको जानकारी भएमा महिलाहरूले अन्यायविरुद्ध आवाज उठाउन र न्याय प्राप्त गर्न सहज हुन्छ," उहाँले बताउनुभयो।
सहायक प्रशिक्षक अधिवक्ता बसन्त राज पोख्रेलले कानुनी ज्ञानले महिलाहरूलाई आत्मविश्वासी र सक्षम बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले समाजमा रहेका विभिन्न प्रकारका विभेद र हिंसाका घटनाविरुद्ध सचेत रहन तथा कानुनी सहायता लिन हिच्किचाउन नहुने धारणा व्यक्त गर्नुभयो। "कानुनी अधिकारको प्रयोगले मात्र महिलाको वास्तविक सशक्तीकरण सम्भव हुन्छ," उहाँले भन्नुभयो।
कार्यक्रमकी अध्यक्ष तथा तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले महिलाहरूको क्षमता अभिवृद्धि र अधिकार सुनिश्चित गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले महिलाहरूलाई कानुनी रूपमा सशक्त बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
सहभागी महिलाहरूले तालिमबाट आफूहरूको अधिकार, कानुनी प्रक्रिया र न्याय प्राप्तिका उपायबारे महत्वपूर्ण जानकारी हासिल गरेको बताएका थिए। तिलोत्तमा नगरपालिकाले महिलाहरूको सामाजिक, आर्थिक तथा कानुनी सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कमेन्ट गर्नुहोस्