
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलासँग तिलोत्तमा कार्यक्रम अन्तर्गत सूचीकृत आमा समूहका पदाधिकारीहरूका लागि दुई दिने कानुनी सचेतना तथा साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ।
कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण ले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खाणले समाजमा बढ्दो साइबर अपराध, महिला तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा र कानुनी जटिलताबारे जानकारी हुनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले आमा समूह समाज परिवर्तनका महत्वपूर्ण साझेदार भएकाले कानुनी सचेतनामार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता उपप्रमुख जागेश्वरी देवी चौधरी ले गर्नुभएको थियो। उहाँले महिलाहरूको क्षमता अभिवृद्धि, अधिकारको संरक्षण र कानुनी सचेतना विस्तारका लागि नगरपालिकाले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। समुदायस्तरमा देखिने विभिन्न सामाजिक तथा कानुनी समस्याको समाधानमा आमा समूहको भूमिका प्रभावकारी हुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो।
कार्यपालिका सदस्य रवि सेन्चुरी ले पनि कार्यक्रमले आमा समूहका पदाधिकारीलाई कानुनी विषयमा सक्षम बनाउने र समुदायमा सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता बसन्तराज पोख्रेल ले प्रशिक्षण दिनुभएको छ। उहाँले साइबर अपराध, साइबर कानुन, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, विद्युतीय माध्यमबाट हुने अपराध, कानुनी उपचारका प्रक्रिया तथा नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा तिलोत्तमा नगरपालिकामा सूचीकृत आमा समूहका पदाधिकारी गरी करिब ५० जना सहभागी रहेका छन्। प्रशिक्षणमा सहभागीहरूले दैनिक जीवनमा आइपर्ने कानुनी समस्या, साइबर सुरक्षा तथा महिला अधिकारसँग सम्बन्धित विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले महिलाको नेतृत्व विकास, कानुनी साक्षरता अभिवृद्धि तथा सुरक्षित र सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ "महिलासँग तिलोत्तमा" कार्यक्रम अन्तर्गत विभिन्न क्षमता विकासमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्