
तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धी युवा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका शिक्षा शाखाका भूपति ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा सचिव, वडा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले युवाको अर्थपूर्ण सहभागिता बिना स्थानीय शासन प्रभावकारी बन्न नसक्ने बताउनुभयो। उहाँले स्थानीय सरकारका नीति, योजना निर्माण, कार्यान्वयन र अनुगमनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।
त्यसैगरी शिक्षा शाखाका भूपति ज्ञवालीले युवामैत्री स्थानीय शासनका अवधारणा, स्थानीय तहको भूमिका, युवाको सहभागिता अभिवृद्धि गर्ने उपाय तथा कार्यान्वयनका व्यवहारिक पक्षबारे प्रस्तुति दिनुभएको थियो। उहाँले वडा तहदेखि नै युवासँग नियमित संवाद, क्षमता विकास तथा सहभागितामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी वडा सचिव, वडा सदस्य तथा कर्मचारीहरूले युवामैत्री शासनका अभ्यास, चुनौती र समाधानका उपायबारे छलफल गर्दै आगामी दिनमा वडा तहबाट युवाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्तरक्रियाले स्थानीय तहमा युवामैत्री शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्