
तिलोत्तमा, असार १२— तिलोत्तमा नगरपालिकाको आयोजनामा दलित पेशा उद्यम अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ। कार्यक्रमको उद्देश्य दलित समुदायका व्यवसायी तथा उद्यमीलाई आफ्नो व्यवसायलाई दिगो, प्रतिस्पर्धी र आयमूलक बनाउन आवश्यक ज्ञान, सीप तथा प्रेरणा प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले दलित समुदायको आर्थिक उन्नतिविना समावेशी विकास सम्भव नहुने उल्लेख गरे। उनले उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिकाले सीप विकास, उद्यम विस्तार र रोजगारी सिर्जनासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी दिए। नगरप्रमुख खाणले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै व्यवसायमा नवीनता ल्याउन सहभागीलाई आग्रह गरे।
सामाजिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले नगरपालिकाले दलित समुदायको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले प्रशिक्षणलाई व्यवहारमा उतारेर व्यवसाय विस्तार गर्न सहभागीलाई आग्रह गर्दै नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवालीले व्यवसाय सञ्चालन गरिरहेका दलित उद्यमीलाई व्यवसाय विस्तार गर्ने, उत्पादन तथा सेवामा नयाँपन ल्याउने, बजारको मागअनुसार योजना बनाउने, गुणस्तर सुधार गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत प्रतिस्पर्धी बन्ने विषयमा प्रशिक्षण दिएका थिए। उनले सफल व्यवसायका लागि निरन्तर सिकाइ, ग्राहकको विश्वास र वित्तीय व्यवस्थापनलाई विशेष महत्व दिनुपर्ने बताए।
यस अभिमुखीकरण कार्यक्रममा विभिन्न क्षेत्रका ७० जना दलित उद्यमीको सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञानले आफ्नो व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ता विश्वकर्माले विश्वास व्यक्त गरेकी थिइन ।आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले दलित उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने, सीपसँगै बजार पहुँच, वित्तीय साक्षरता र निरन्तर परामर्श उपलब्ध गराउन सके दलित उद्यमीहरूको व्यवसाय थप सुदृढ बन्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्