
काठमाडौँ, असार ४ गते । झापामा जारी २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्षखेलाडी उपाधि नजिक रहेका छन् ।
नवौँ चरणको समाप्तिसँगै वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अङ्क र महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारीले ७.५ अङ्क बनाउदै उपाधि नजिक पुग्नुभएको छ । पुरुषतर्फ काठमाडौँका शीर्ष २०७६ रेटेड रुपेश जैसवालले आठ र एक बराबरी खेल्नुभयो । यस्तै पाँचथरका २०६१ रेटेड खेलाडी रिसोन थापा ६.५ अङ्क जोडेर दोस्रो तथा दोलखाका १९४० रेटेड आशिष फुयाल तेस्रो स्थानमा हुनुहुन्छ । आशिषसँगै सिएम पुरुषोत्तम सिलवाल र झापाका २०१९ रेटेड सुश्रुत दहालको समान ५.५ अङ्क छ ।
महिलातर्फ शीर्ष १७१० रेटेड झापाका कृतिसराले सात जित र एक बराबरीसहित शीर्षस्थान कब्जा गर्नुभएको हो । राष्ट्रिय ‘बी’ प्रतियोगिताबाट छनोट हुन सफल झापाकै १६४८ रेटेड पूजा भण्डारी दोस्रो र समान अङ्क बनाउनुभएकी सिन्दिरा जोशी तेस्रो स्थानमा हुनुहुन्छ । दुई चरणको खेल बाँकी रहँदा रुपेशले तेस्रो पटक नेपाल च्याम्पियन बन्ने बाटोमा हुनुहुन्छ ।
एफएम रुपेश र सिन्दिराले आगामी सेप्टेम्बरमा हुने ४६औँ चेस ओलम्पियाडमा सहभागीता जनाउने नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता सदस्य राजु ताम्राकारले जानकारी दिनुभयो । यस प्रतियोगिताबाट थप दुई जनाले पनि ओलम्पियाड यात्रा तय गर्ने छन् ।
कमेन्ट गर्नुहोस्