
शारदा शाही, बुटवल। विद्या शाहको अधिकांश समय चाबी बनाउने काममै बित्ने गर्छ। बिहान घरको सम्पूर्ण काम सकेपछि उनी १० बजेदेखि राति ९ बजेसम्म, कहिलेकाहीँ साढे ९ बजेसम्म पनि पसलमै व्यस्त रहन्छिन्। बुटवल माइती घर भएकी विद्या विवाहपछि विगत १५ वर्षदेखि यही पेशामा सक्रिय छिन्।
विद्याले सुरुबाटै चाबी बनाउने काम गरेकी भने होइनन्। उनका श्रीमान् यसै पेशामा संलग्न थिए। सुरुमा श्रीमानलाई सहयोग गर्ने क्रममा उनले चाबी बनाउने सीप सिकिन्। समयसँगै अनुभव र अभ्यास बढ्दै गएपछि अहिले उनी आफैंले विभिन्न प्रकारका चाबी बनाउन सक्ने भएकी छन्। उनका श्रीमान् अहिले भने होम सर्भिस अर्थात् ग्राहकको आवश्यकता अनुसार बाहिर गएर सेवा दिने काममा बढी व्यस्त रहने गर्छन्।
विद्याको पसल काठमाडौँ गंगबु नयाँ बसपार्क नजिकै रहेको छ। उनले घर, दराज, मोटरसाइकल, गाडी, हराएका चाबीको पुनः निर्माण, सेन्सर चाबी तथा रिमोट सिस्टमका चाबीसमेत सहज रूपमा तयार गर्छिन्। आधुनिक प्रविधिसँग सम्बन्धित चाबी बनाउन सक्ने क्षमताका कारण उनको व्यवसाय राम्रोसँग चलिरहेको छ। उनले चाबी बनाएर मासिक करिब दुई लाख ५० हजार रुपैयाँसम्म कारोबार हुने बताइन्। सबै खर्च कटाएपछि करिब एक लाख रुपैयाँ नाफा हुने उनको भनाइ छ।
यो पेशामा काम गर्ने क्रममा उनले केही तिता अनुभव पनि भोगेकी छन्। कतिपय मानिसले महिला भएर यस्तो काम गर्नु उपयुक्त नभएको टिप्पणी गर्ने गरेको उनी बताउँछिन्। “महिलाले त घर सम्हाल्नुपर्छ, यस्तो काम किन गर्ने ?” भन्ने खालका टिप्पणी सुन्दा नराम्रो लाग्ने गरेको उनको अनुभव छ। तर अर्कोतर्फ धेरै ग्राहकले उनको सीप र मेहनतको प्रशंसा गर्ने गरेका छन्। एक महिलाले जटिल किसिमका चाबी तयार गरेको देखेर धेरैजना आश्चर्यचकित हुने र हौसला दिने गरेको उनी बताउँछिन्।
सानै उमेरमा विवाह भए पनि कामप्रतिको लगन, निरन्तर मेहनत र सिक्ने इच्छाशक्तिका कारण विद्या आज आत्मनिर्भर तथा सफल व्यवसायीका रूपमा स्थापित भएकी छन्। परम्परागत रूपमा पुरुषको पेशा मानिने क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनको कथा महिलाले चाहे जुनसुकै पेशामा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण बनेको छ। उनले आत्मविश्वास, मेहनत र सीपका आधारमा समाजका स्थापित सोचलाई चुनौती दिँदै अन्य महिलाका लागि समेत प्रेरणाको स्रोत बनेकी छन्।
कमेन्ट गर्नुहोस्