
काठमाडौँ, जेठ १७ गते । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका चिनियाँ चलचित्र नेपालमा प्रदर्शन हुने भएका छन् ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आगामी जुन २ देखि ४ (जेठ १९ देखि २१ गते) सम्म ६ वटा अवार्ड विजेता चिनियाँ चलचित्र काठमाडौँमा देखाइने भएको हो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर चलचित्र प्रदर्शन गर्न लागेका हुन् । यसका लागि काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ ।
ठमेलस्थित छाया सेन्टरमा ६ वटै चलचित्र सशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ आफूहरू यसमा जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताउनुभयो ।
अध्यक्ष पाठकले भन्नुभयो, “चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलचित्रकर्मीलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव आयोजना गर्ने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शन गर्न सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा ध्यान केन्द्रित गरेका छौँ । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर विगत लामो समयदेखि हामी अभियानमा छौँ र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ ।”
कार्यक्रमको पहिलो दिन तीनवटा चलचित्र देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने कार्यक्रममा पहिलो चलचित्र ‘ट्रयाप’ प्रदर्शन हुनेछ, जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा मच्चाएको वितण्डाको कथामा आधारित छ । अपराध तथा थ्रिलर विधामा बनेको यस चलचित्रका निर्देशक सागर झाङ हुनुहुन्छ । यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सहअभिनेताको अवार्ड जितेको थियो । प्रदर्शनपछि निर्देशक झाङको दर्शकसँग प्रश्नोत्तर कार्यक्रमसमेत हुने जनाइएको छ ।
दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित चलचित्र ‘बियोन्ड द स्काइज’ युद्धको पृष्ठभूमिमा बनेको छ । बेलुका ५ बजेदेखि प्रदर्शन हुने चलचित्र ‘समर डायरी’ का निर्देशक वु शुआङ हुनुहुन्छ । आमाको खोजीमा निस्किएको एक पात्रको यात्रामा यो चलचित्र आधारित छ ।
रुई कुई र सियाङ लिउ निर्देशित चलचित्र ‘लस्ट इन द स्टार’ पनि प्रदर्शन हुने तालिका छ । यो चलचित्र गर्भवती महिला हराएको रहस्यमय घटनामा आधारित छ । त्यस्तै झाङ लु निर्देशित चलचित्र ‘द स्याडोलेस टावर’ प्रेम कथामा आधारित छ भने दाशाङ कोङ निर्देशित विज्ञान विधाको चलचित्र ‘जर्नी टु द वेस्ट’ एलियनको खोजीको कथामा व्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा निर्माण गरिएको छ ।
कमेन्ट गर्नुहोस्