
बुटवल । नेपाली चलचित्र ‘पार्वती’ प्रति दर्शकको आकर्षण बढ्दै गएको छ। सुरुवाती दिनमा अपेक्षाकृत कमजोर व्यापार गरेको चलचित्रले शुक्रबारदेखि भने दर्शकको सकारात्मक प्रतिक्रिया र ‘माउथ पब्लिसिटी’का कारण बक्स अफिसमा उल्लेख्य सुधार गरेको निर्माण पक्षले जनाएको छ।
रसुवामा गएको बाढीपहिरो तथा सुरुवाती कमजोर व्यापारका बाबजुद निर्देशक नीता ढुङ्गानाले चलचित्रको पहिलो शोबाट प्राप्त रकम राहत कोषमा सहयोग गरेकी थिइन्। त्यसपछि क्रमशः दर्शकको सकारात्मक प्रतिक्रिया बढ्दै जाँदा चलचित्रको व्यापारमा पनि व्यापक सुधार आएको बताइएको छ।
अटिजम प्रभावित दिदी र भाइबीचको सम्बन्ध तथा पारिवारिक सङ्घर्षको भावनात्मक कथावस्तुमा आधारित चलचित्र ‘पार्वती’ ले दर्शकको मन जितिरहेको छ। चलचित्र हेरेर बाहिरिएका धेरै दर्शकले फिल्मको कथावस्तु निकै भावुक र मार्मिक रहेको प्रतिक्रिया दिएका छन्।यतिबेला चलचित्रका कलाकार तथा निर्माण टोली पश्चिम नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन्। कैलाली, कञ्चनपुर, बाँके, दाङ, जितपुरलगायतका स्थानमा दर्शक भेटघाट गरिरहेको टोली शनिबार बुटवलमा पनि दर्शकमाझ पुगेको थियो।
बुटवलमा चलचित्रप्रति दर्शकको उत्साह उल्लेख्य देखिएको छ। ७ वटा फिल्महाल मध्ये सबै जसो हलमा शो हाउसफुलसमेत भएका छन्। चलचित्र प्रदर्शनपछि कलाकारसँग भेट्न पाएका दर्शकले फिल्मप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका थिए। फिल्मको भावनात्मक कथाले धेरै दर्शकको आँखा रसाएको प्रतिक्रिया समेत दर्शकले दिएका छन्।
हरिहर अधिकारीको लगानी रहेको चलचित्र ‘पार्वती’ मा निर्देशक नीता ढुङ्गाना, अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।भावनात्मक पारिवारिक कथावस्तु, कलाकारको अभिनय र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण नेपाली चलचित्र ‘पार्वती’ प्रति दर्शकको आकर्षण थप बढ्दै गएको छ।
कमेन्ट गर्नुहोस्