लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–९ मा जनप्रतिनिधिसँग विद्यार्थी,विद्यार्थीले निर्धक्क राखे आफ्ना समस्या र जिज्ञासा

IMG

केवलानी। तिलोत्तमा नगरपालिका वडा नं. ९ मा "जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम" अन्तर्गत प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई आफ्ना विचार, समस्या, आवश्यकता र जिज्ञासा प्रत्यक्ष रूपमा जनप्रतिनिधिसमक्ष राख्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ध्रुव न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष सहित जिज्ञासाको उत्तर दिनेहरुमा कार्यपालिका सदस्य तथा बालमैत्री वडा फोकल पर्सन तारा सुनार, वडा सदस्य कमल शर्मा रेग्मी, बालमैत्री सहजकर्ता राधा खनाल,विश्व शान्ति विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डे, शिक्षक कृष्ण कँडेल, दिपेन्द्र गुप्ता, देबेन्द्र राज अधिकारी , लगायतको उपस्थिति रहेको थियो। साथै वडा बाल सञ्जालका अध्यक्ष मिराज अर्यालले पनि विद्यार्थीहरूको जिज्ञासा सम्बोधन गर्नुभएको थियो।


अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले विद्यालय तथा समुदायसँग सम्बन्धित विभिन्न विषयमा खुलेर प्रश्न राखेका थिए। विद्यालयका शौचालयको अवस्था, छात्राका लागि सेनेटरी प्याडको उपलब्धता, बेञ्च–डेस्क व्यवस्थापन, शुद्ध खानेपानी, खेलकुद सामग्री, खेलमैदानको अभाव, बालमैत्री कार्यक्रम सञ्चालन, वडा तथा नगरको बजेट विनियोजन, सडक पूर्वाधार विकास तथा विभिन्न सीपमूलक तालिमका विषयमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा तथा गुनासाहरू प्रस्तुत गरेका थिए।


विद्यार्थीहरूले राखेका प्रश्नहरूको जवाफ जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूले दिएका थिए। उनीहरूले विद्यार्थीका समस्या तथा सुझावलाई गम्भीरतापूर्वक लिइने र आवश्यक विषयहरूलाई आगामी योजना तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


वडा अध्यक्ष ध्रुव न्यौपानेले विद्यार्थीहरूलाई समाज र राष्ट्रका भावी नेतृत्वकर्ता भएको उल्लेख गर्दै आफ्ना विचार र प्रश्नहरू निडरतापूर्वक राख्नु सकारात्मक अभ्यास भएको बताउनुभयो। उहाँले वडा कार्यालय बालबालिकाको हक, हित र विकासप्रति संवेदनशील रहेको भन्दै विद्यार्थीबाट आएका सुझावलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने प्रयास गरिने जानकारी दिनुभयो।


कार्यक्रममा बोल्दै सहभागी जनप्रतिनिधि तथा शिक्षकहरूले विद्यालय र समुदायको विकासमा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका थिए। यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास तथा नागरिक चेतनाको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।


कार्यक्रमको सञ्चालन वडा सचिव माया गैरेले गर्नुभएको थियो भने सहजीकरण मोहन न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पहिलो पटक आफ्ना समस्या र आवश्यकताबारे प्रत्यक्ष रूपमा जनप्रतिनिधिसँग संवाद गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए।


विद्यार्थी, जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाबीच खुला संवाद स्थापित गर्दै बालमैत्री शासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक बनेको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय सरकार र बालबालिकाबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै बालबालिकाका आवाजलाई नीति तथा योजनामा समेट्न महत्वपूर्ण योगदान पुग्ने सो कार्यक्रमको लक्ष्य रहेको छ। 

कमेन्ट गर्नुहोस्