
कोटिहवा। तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा महिलाहरूलाई आत्मनिर्भर, उद्यमशील र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको एडभान्स अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमा उपलब्ध कृषि उत्पादनको उपयोग गर्दै गुणस्तरीय अचार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणमा महिलाहरूलाई दक्ष बनाउने लक्ष्यसहित आयोजित तालिममा नगरका १७ वटै वडाका अचार व्यवसायमा संलग्न तथा रुचि राख्ने महिलाहरूको सहभागिता रहेको थियो।
तालिमका क्रममा विभिन्न प्रकारका स्वादिष्ट तथा आकर्षक अचार उत्पादन गरिएका थिए। अचारको सुगन्ध र स्वादले सहभागीहरूलाई मात्र होइन, अवलोकनकर्तालाई समेत “अचार देख्दै खाऊँ खाऊँ लाग्ने” अनुभव दिलाएको थियो। स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गरी बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिमले महिलाहरूमा व्यवसायिक सोच र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेका अनुसार तालिममा अचार उत्पादन गरिरहेका तथा व्यवसाय विस्तार गर्न चाहने महिलाहरूलाई लक्षित गरिएको थियो। “तिलोत्तमाका १७ वटै वडाबाट सहभागी महिलाहरूलाई साकाहारी र मांसाहारी दुवै प्रकारका अचार उत्पादनसम्बन्धी उन्नत सीप प्रदान गरिएको हो,” उनले भनिन्। तालिमले महिलाहरूलाई घरेलु उत्पादनलाई व्यवसायिक रूप दिन आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गरेको उनको भनाइ छ।
तालिमकी प्रशिक्षक शान्ता अचार दाङ्ग घोराहीका संचालक तथा पुर्व सभासद शान्ता चौधरीका अनुसार १० दिनसम्म चल्ने तालिमको ७ औ दिनमा भेज र ननवेज गरि १४ प्रकारका अचार उत्पादन गर्न सिकाइएको थियो। अचार उत्पादनका लागि आवश्यक कच्चा पदार्थको छनोट, सरसफाइ, प्रशोधन प्रक्रिया, स्वादको सन्तुलन, संरक्षण विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ र ब्राण्डिङका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार उत्पादन गरिएका अचारहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रशिक्षकहरु समेत सहभागी हुने तालिममा मापदण्डअनुसारको अचार तयार गरिएको छ। “अचारको गुणस्तर कायम राख्दै १८ महिनासम्म सुरक्षित रूपमा उपभोग गर्न मिल्ने गरी उत्पादन गर्ने विधि सिकाइएको छ,” प्रशिक्षक चौधरीले बताइन्। साथै बजारमा प्रतिस्पर्धा गर्न सक्ने आकर्षक प्याकेजिङ, लेबलिङ र ब्राण्ड निर्माणका विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।
तालिममा सहभागी महिलाहरूले यस प्रकारको व्यावसायिक सीपमूलक कार्यक्रमले स्वरोजगार बन्न र आफ्नै उद्यम स्थापना गर्न प्रेरणा दिएको बताएका छन्। घरमै उपलब्ध स्रोत–साधन र स्थानीय उत्पादनको उपयोग गरी आम्दानी बढाउन सकिने सम्भावना देखिएको भन्दै उनीहरूले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।सहभागीहरूको भनाइमा तालिमले केवल अचार बनाउने सीप मात्र नभई व्यवसाय सञ्चालन, बजार खोजी, उत्पादनको गुणस्तर कायम राख्ने तरिका तथा ग्राहकको विश्वास जित्ने उपायसमेत सिकाएको छ। यसले भविष्यमा महिला उद्यमीहरूको संख्या वृद्धि गर्न र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गरी बजारसँग जोड्ने तथा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम तिलोत्तमा नगरपालिकाको महिला सशक्तीकरण अभियानअन्तर्गत प्रभावकारी कार्यक्रमका रूपमा रहेको सहभागीहरूले बताएका छन्। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै गुणस्तरीय अचार उत्पादन तथा व्यवसाय विस्तारमा लाग्ने प्रतिबद्धता सहभागी महिलाहरूले व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्