
तिलोत्तमा । सगरमाथा टोल विकास संस्था को आयोजनामा बालबालिका तथा अभिभावक लक्षित दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम तथा एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकृष्ण खाण ले बालबालिका र युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए। उनले समाजलाई सभ्य, सुरक्षित र जिम्मेवार बनाउन अभिभावक, शिक्षक तथा समुदाय सबैको साझा भूमिका रहने उल्लेख गरे। नगरपालिकाले शिक्षा, युवा तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए।
कार्यक्रम सगरमाथा टोल विकास संस्थाका अध्यक्ष ध्रुव पाण्डेको अध्यक्षता तथा रामकृष्ण खाण को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा बालबालिका र अभिभावकको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा सकारात्मक सोच निर्माणका विषयमा विभिन्न प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा विशेष गरी जीवन जिउने कला, प्रभावकारी उद्घोषण, लागुऔषध दुर्व्यसनबाट बच्ने उपाय, सामाजिक सञ्जालको सही प्रयोग तथा “स्वस्थ मस्तिष्क नै स्वस्थ र सुरक्षित समाज निर्माणको आधार” भन्ने विषयमा केन्द्रित सहजीकरण गरिएको आयोजकले जनाएको छ।
प्रशिक्षक रमेश अर्यालले सहभागीहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, समय व्यवस्थापन, सकारात्मक सोच तथा अनुशासनका विषयमा प्रशिक्षण दिएका थिए। टोल बिकासका प्रतिनिधिहरुले आफ्नो भनाई राख्दै अहिलेको समयमा बालबालिका र युवाहरू सामाजिक सञ्जालको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेकाले यसको सही र मर्यादित प्रयोग आवश्यक रहेको बताएका थिए। साथै उनीहरुले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले सचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानका साथ हौसला प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई भविष्यप्रति आशावादी हुँदै मेहनत र अनुशासनका साथ अघि बढ्न प्रेरणा दिएका थिए।संस्थाका अध्यक्ष ध्रुव पाण्डेले समाजमा सकारात्मक परिवर्तन ल्याउन बालबालिका, अभिभावक र समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि युवामुखी, शैक्षिक तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।कार्यक्रम सहभागीहरूले प्रशिक्षणबाट व्यवहारिक ज्ञान, आत्मविश्वास र सकारात्मक ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका थिए। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम अन्त्यमा धन्यवाद तथा शुभकामना आदानप्रदानसँगै सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्