
तिलोत्तमा। तिलोत्तमा नगरपालिका र लुम्बिनी ईञ्जिनियरिङ्ग कलेज बीच शिक्षा, प्राविधिक सहयोग, इण्टर्नशिप तथा छात्रवृत्तिलगायतका विषयमा आज समझदारी सम्झौता (एमओयू) भएको छ।
सम्झौतामा नगरपालिकाको तर्फबाट रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल तथा योजना शाखा प्रमुख इन्जिनियर प्रदिप बन सहभागी हुनुभएको थियो। यस्तै कलेजको तर्फबाट अध्यक्ष रामचन्द्र ढकाल, सदस्य सचिव प्रोफेसर डाक्टर के.एन. पाण्डे तथा प्राचार्य एल.एन. पाण्डे सहभागी हुनुभएको थियो ।
सम्झौतामार्फत विद्यार्थीहरुको पठनपाठनलाई व्यवहारिक तथा सीपमूलक बनाउने, प्राविधिक ज्ञान आदानप्रदान गर्ने, इण्टर्नशिप तथा छात्रवृत्तिको अवसर विस्तार गर्ने र रोजगारसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।सम्झौतापछि नगर प्रमुख रामकृष्ण खाणले शिक्षा र व्यवहारिक सीपबीचको दूरी कम गर्न यस्ता सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्ने नीति अनुसार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी कलेज अध्यक्ष रामचन्द्र ढकालले स्थानीय तह र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यार्थीहरुलाई व्यवहारिक अनुभव दिलाउने तथा भविष्यको रोजगारीमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्