
तिलोत्तमा। तिलोत्तमा नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट ४ जीपीए ल्याउन सफल १२ जना विद्यार्थीलाई सम्मानपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
विद्यार्थीहरुको मेहनत, अनुशासन र शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी मात्र होइन, उनीहरुलाई सफलताको बाटो देखाउने विद्यालयका प्रधानाध्यापक तथा अभिभावकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा दिने वातावरण निर्माणमा सबै पक्षको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको थियो ।
कार्यक्रममा अध्यक्षता गर्दै नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले निरन्तर शिक्षा क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीको सफलता व्यक्तिगत मात्र नभई परिवार, विद्यालय र समुदायको गौरव भएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो नतिजाका लागि नगरपालिकाले आवश्यक सहयोग र प्रोत्साहन जारी राख्ने बताउनुभयो ।
नगर उपप्रमुख जागेश्वर देवी चौधरीले विद्यार्थीलाई सम्मान गर्नु भनेको भविष्यलाई सम्मान गर्नु भएको बताउँदै शिक्षामा गुणस्तर वृद्धिका लागि अभिभावक, शिक्षक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले छात्र–छात्रा दुवैलाई समान अवसर प्रदान गर्दै सिर्जनात्मक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खुमालाल भुसालले तिलोत्तमाले शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मेहनती विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्य ले नगरभित्र शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलाप तथा प्रतिभा प्रोत्साहन कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।
कार्यक्रमको संचालन गर्दै शिक्षा अधिकृत धनी प्रसाद शर्माले विद्यार्थीहरुको सफलता निरन्तर अभ्यास, अनुशासन र अभिभावक–शिक्षकको साथको परिणाम भएको उल्लेख गर्दै आगामी वर्षमा अझ धेरै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै न्यु लाइट मावि का प्राचार्य रमेश ज्ञवाली ले स्थानीय तहले विद्यार्थीलाई सम्मान गर्नु सकारात्मक र प्रेरणादायी कदम भएको बताउनुभयो । उहाँले सम्मानले विद्यार्थीमा थप आत्मविश्वास बढ्ने र प्रतिस्पर्धात्मक क्षमता विकास हुने धारणा राख्नुभयो ।
त्यसैगरी शान्ति नमुना मावि का प्रधानाध्यापक कुल प्रसाद लामिछाने ले सामुदायिक र संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाले शिक्षा क्षेत्रलाई बलियो बनाएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई केवल परीक्षामुखी नभई व्यवहारिक, नैतिक र जिम्मेवार नागरिक बनाउने दिशामा विद्यालयहरु अग्रसर रहेको बताउनुभयो ।
सम्मानित विद्यार्थीहरुले नगरपालिकाबाट प्राप्त सम्मानले आफूहरुलाई अझ मेहनत गरेर अगाडि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए । अभिभावकहरुले पनि स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको भन्दै खुशी व्यक्त गरेका थिए ।कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तिलोत्तमा नगरपालिकाको यो अभियानलाई सहभागीहरुले सकारात्मक र प्रेरणादायी कदमको रुपमा लिएका छन् ।
कमेन्ट गर्नुहोस्