
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले विद्यार्थीहरूलाई लक्षित गर्दै लागुपदार्थ दुव्र्यसन, हिंसा तथा विभेद सम्बन्धी कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । न्यायिक समितिसंग बिद्यार्थी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख जागेश्वरी देवी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी गजमेर, कानुनी सहजीकरणकर्ता अधिवक्ता दिनेश घिमिरे तथा परामर्श सहजीकरण प्रशासकीय प्रमुख सीता घिमिरेलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शोभा खनालले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थ दुव्र्यसनका असर, विद्यालय तथा समाजमा हुने हिंसा र विभेदका विभिन्न पक्ष, कानुनी व्यवस्था तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो । सहजीकरणका क्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा सहभागिता जनाएका थिए ।कार्यक्रममा वक्ताहरूले किशोरकिशोरीहरूलाई सही मार्गदर्शन, सकारात्मक सोच र सुरक्षित सामाजिक वातावरण आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले विद्यार्थीहरूलाई लागुपदार्थ दुव्र्यसनबाट टाढा रहन, हिंसा तथा विभेदविरुद्ध सचेत बन्न र कानुनी अधिकार तथा कर्तव्यबारे जानकारी राख्न आग्रह गरेका थिए ।नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीहरूमा सामाजिक तथा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्