लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका सबै वडामा निःशुल्क निवेदन सेवा, सेवाग्राहीको लाखौं रुपैयाँ बचत हुने अपेक्षा

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका का सबै वडा कार्यालयमा अब विभिन्न प्रकारका निवेदन निःशुल्क उपलब्ध गराइएको छ। सेवाग्राहीले अब सामान्य निवेदन लेखाउन बाहिर गएर पैसा खर्च गर्नुपर्ने बाध्यता हट्ने भएको हो।नगरपालिकाका वडा कार्यालयहरूमा करिब ४० प्रकारका नेपाली तथा अंग्रेजी निवेदनका नमुना छापेर सेवाग्राहीले सजिलै देख्ने गरी राखिएको छ। यसबाट नागरिकले आफैं निवेदन तयार गर्न सक्ने र अनावश्यक खर्च बचत हुने नगरपालिकाले जनाएको छ।


केही वडाहरूमा निःशुल्क हेल्प डेस्कसमेत सञ्चालन गरिएको छ भने वडा सदस्यहरूले समेत सेवाग्राहीका निवेदन लेखेर सहयोग गरिरहेका छन्।वडा बाहिर निवेदन लेखाउँदा चर्को शुल्क लिने गरिएको गुनासो बढेपछि हालका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ले सबै प्रकारका निवेदनको ढाँचा वडा कार्यालयमै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो।


उहाँका अनुसार लामो समयदेखि निवेदन लेखाउने नाममा सेवाग्राहीको ठूलो रकम खर्च हुने अवस्था देखिएपछि यो योजना सुरु गरिएको हो। विशेषगरी घटना दर्ता, सामाजिक सुरक्षा, नक्सा, दीर्घरोगी सिफारिस तथा वडाबाट प्रदान गरिने विभिन्न सिफारिससम्बन्धी निवेदनका नमुना सहज रूपमा उपलब्ध गराइएको छ।अंग्रेजी भाषामा आवश्यक पर्ने निवेदन तथा कागजातको नमुना समेत उपलब्ध गराइएकाले अनुवादका लागि थप खर्च गर्नुपर्ने अवस्था पनि हट्ने अपेक्षा गरिएको छ।


प्रमुख प्रशासकीय अधिकृत भुसालले सबै नगरवासीलाई निःशुल्क पाइने सेवामा अनावश्यक पैसा खर्च नगर्न आग्रह गर्नुभएको छ। नगरपालिकाका अनुसार दैनिक एउटा वडामै ३० देखि ५० वटासम्म निवेदन बाहिर लेखाउनुपर्ने अवस्था रहेकाले सेवाग्राहीलाई सहज बनाउन यो अभियान सुरु गरिएको हो। निःशुल्क निवेदन सेवाबाट सेवाग्राहीको वार्षिक रूपमा लाखौं रुपैयाँ बचत हुने प्रक्षेपण गरिएको छ।

कमेन्ट गर्नुहोस्