लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

IMG

शंकरपुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण तथा समग्र विकास योजनाबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता रहेको थियो भने उपप्रमुख जागेश्वर देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको विशेष उपस्थिति रहेको थियो। 


सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सम्पन्न भएका विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, सरसफाई तथा सेवा प्रवाहसँग सम्बन्धित प्रगति विवरण प्रस्तुत गरेको थियो। साथै आगामी योजना, नगरको दीर्घकालीन विकास रणनीति तथा सञ्चालन भइरहेका योजनाबारे समेत जानकारी गराइएको थियो।


कार्यक्रममा सहभागी नगरवासीहरूले नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाहरू, सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, कर व्यवस्थापन तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्नहरू उठाएका थिए। सार्बजनिक सुनुवाईमा उपस्थित सहभागीहरू मध्ये सुरज ज्ञवालीले तिलोतमा नगरपालिकामा रहेका सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको र १६/३६ सिचाई प्रणालीका मुख्य नहर र शाखा कुलाहरु अतिक्रमण गर्नेहरूमा साधारण व्यक्ति देखि स्वयं जिम्मेबार पनि रहेको कुरा उल्लेख गरेका थिए। उठाइएका प्रश्न तथा सुझावमाथि नगर प्रमुख, उपप्रमुख, सम्बन्धित शाखाका कर्मचारी, वडा जनप्रतिनिधि तथा कर्मचारीहरूले जवाफ तथा सहजीकरण गरेका थिए।


नगर प्रमुख रामकृष्ण खाणले सार्वजनिक सुनुवाईले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्ने बताउँदै नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले नागरिकबाट आएका सुझावलाई आगामी योजना तथा नीति निर्माणमा समेटिने विश्वास व्यक्त गर्नुभयो।


उपप्रमुख जागेश्वर देवी चौधरीले विकास निर्माणसँगै सामाजिक उत्तरदायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगरवासीको सहभागिता र सुझावले स्थानीय सरकारलाई अझ जिम्मेवार बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।


प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले कानुनी प्रक्रिया, पारदर्शिता तथा सुशासनलाई केन्द्रमा राखेर सेवा प्रवाह गरिरहेको बताउँदै नागरिकका गुनासा तथा सुझावलाई सम्बोधन गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।


कार्यक्रममा सहभागीहरूले सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमले नागरिकलाई स्थानीय सरकारका गतिविधिबारे जानकारी प्राप्त गर्ने अवसर मिल्नुका साथै जनप्रतिनिधिलाई प्रत्यक्ष सुझाव दिन सकिने वातावरण बनेको बताएका थिए। नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, वडा सचिव, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, विद्यालय, बालसमूह लगायत नगरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कमेन्ट गर्नुहोस्