लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको तेस्रो त्रैमासिक समिक्षा सम्पन्न,पुजीगत खर्च १८.७३ प्रतिशत

IMG

तिलोत्तमा।  तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८२/८३ को नीति,योजना तथा कार्यक्रमको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट यस आर्थिक बर्षको तेस्रो त्रैमासिक रुपमा भएको आम्दानि र खर्च सहितको योजना तथा कार्यक्रमको बारेमा प्रगति प्रस्तुत गरिएको थियो ।नगरपालिकाले हालसम्मको चालु खर्च ५२.८८ र पुजीगत खर्च १८.७३ प्रतिशत रहेको जानकारी समेत गराएको छ। जस अनुसार कुल बजेट २,९२,९३,७१,५८२ रहेकोमा हालसम्म १,१८,९२,२०,७१५ मात्रै खर्च भएको समिक्षामा जानकारी गरिएको थियो।  


सो समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। नगरपालिकाले सारेका आयोजनाहरुको ईरान अमेरिका युद्धले आवश्यक सामग्री अभावले गर्दा आयोजना सम्पन्न हुन बाँकी रहेकोले अबको छोटो समयमा गुणस्तरीय योजना सम्पन्न गर्न असहज भएको कुरा ब्यक्त गर्दै उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशनिय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुरा हुने कुरा बताउनुभयो।


सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जनप्रतिनिधिको सोच र कर्मचारीको सोच र गन्तव्य फरक भएपनी नगरपालिकाको बिकास कार्यमा एउटै लक्ष्य भएकाले जनताको सेवामा कुनै कसर बाँकी नराखी कर्मचारीले कुनै पनि बिलम्ब नगरी, छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर  गर्नुभयो। उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। 


सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको रदेशको परिश्थितिले गर्दा योजना सम्पन्न हुन केहि बिलम्ब रहेको बताउनुभयो । उहाँले नगरका  हरेक गतिबिधिलाई  जनताको नजिक लैजानुपर्ने र बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै  जनप्रतिनिधि र कर्मचारी नंग र मासु भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। हालसम्मको नगरपालिकाको समग्र कार्य निकै उत्कृस्ट रहेको दावी गर्दै  प्रमुख प्रशासकीय अधिकृत भुसालले जनतालाई सेवा दिने पक्षमा कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो।समिक्षा कार्यक्रममा कार्यपालिका सदस्य डिल बहादुर भट्टराई, कृष्ण पौडेल, झविलाल भुसाल,रवि सेन्चुरी लगायतले बोल्दै नगरपालिकाले उत्कृस्ट कार्य सम्पन्न गर्न अझै लागि पर्नुपर्ने बताउनुभएको थियो।


जनप्रतिनिधि , कर्मचारी लगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्थाबारे बिश्लेषण गरेका थिए। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जगेश्वर देवी चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन प्रसासकिय अधिकृत सिता घिमिरेले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्