लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घरेलु तथा साना उद्योगको उत्पादित वस्तुको गुणस्तर लेभलिङ्ग सम्बन्धी अभिमुखीकरण सम्पन्न

IMG

मणिग्राम। घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा उद्योग व्यवसायी तथा उपभोक्ताहरुलाई लक्षित गर्दै “उत्पादित वस्तुको गुणस्तर लेभलिङ्ग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित तिलोत्तमा व्यापार संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योगी, व्यवसायी, उपभोक्ता प्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका प्रमुख शारदा भट्टराईले बजारमा उत्पादन हुने वस्तुको गुणस्तर र सही लेभलिङ्ग उपभोक्ताको अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो। उहाँले उद्योग व्यवसाय सञ्चालन गर्दा गुणस्तर मापदण्ड पालना गर्नु कानुनी दायित्व मात्र नभई व्यवसायको विश्वसनीयता र दीर्घकालीन सफलताको आधारसमेत भएको उल्लेख गर्नुभयो। “उत्पादनमा गुणस्तर कायम गर्न सके उपभोक्ताको विश्वास बढ्छ, बजार विस्तार हुन्छ र नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता हासिल गर्छ,” उहाँले भन्नुभयो। साना तथा घरेलु उद्योगहरुलाई आधुनिक बजार प्रणाली अनुसार उत्पादनको प्याकेजिङ्ग, लेभलिङ्ग तथा मापदण्डमा विशेष ध्यान दिन आग्रह गर्दै उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले व्यवसायीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।


खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रियामा सहजीकरण गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अनुप हलुवाईले खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दा स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले खाद्य वस्तुमा उत्पादन मिति, उपभोग मिति, सामग्रीको विवरण, उत्पादकको नाम तथा सम्पर्क लगायतका विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो। खाद्यजन्य वस्तुमा लापरवाही हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उहाँले स्वच्छ उत्पादन र सुरक्षित उपभोग संस्कृतिको विकास गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।


त्यसैगरी गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरिक्षक रमेश प्रसाद पाण्डेले गुणस्तर मापन र नापतौल प्रणालीबारे सहजीकरण गर्दै व्यवसायमा पारदर्शिता कायम गर्न सही नापतौल अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्तालाई ठगी हुन नदिन प्रत्येक व्यवसायीले प्रमाणित मापन प्रणाली प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। बजारमा हुने अनियमितता न्यूनीकरणका लागि सरकारी निकायले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै उहाँले व्यवसायीहरुलाई कानुनी मापदण्डअनुसार कारोबार सञ्चालन गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा बोल्दै बाणिज्य कार्यालय भैरहवाका प्रमुख धर्म अर्यालले उपभोक्ता अधिकार संरक्षणमा उद्योगी, व्यवसायी र सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले बजारलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउन गुणस्तरीय उत्पादन र सही सूचनासहितको लेभलिङ्ग अनिवार्य रहेको धारणा राख्नुभयो। व्यवसायीहरुले उपभोक्तालाई सही सूचना उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले गुणस्तरहीन वस्तुको उत्पादन तथा बिक्री वितरणले समग्र बजार व्यवस्थामै नकारात्मक असर पार्ने बताउनुभयो।


मन्तव्यका क्रममा चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका जेपी कंडेलले उद्योगी व्यवसायीहरुलाई समयानुकूल बजार व्यवस्थापन र उपभोक्ता हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। उहाँले गुणस्तर कायम गर्न सके नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने बताउँदै व्यवसायीहरुलाई उत्पादन प्रक्रियादेखि बजारीकरणसम्म जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी तिलोत्तमा ब्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले पछिल्लो समय उपभोक्ताहरु उत्पादनको गुणस्तरप्रति सचेत बन्दै गएको बताउनुभयो। उहाँले उद्योगी तथा व्यवसायीहरुले प्रतिस्पर्धी बजारमा टिकिरहन उत्पादनको गुणस्तर, प्याकेजिङ्ग र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न गुणस्तर प्रमाणीकरण र प्रभावकारी लेभलिङ्ग महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ थियो।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै उद्यम बिकास सहजकर्ता अनन्त पन्थीले उद्योग व्यवसायको दिगो विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योगी व्यवसायीलाई कानुनी प्रावधान, गुणस्तर मापदण्ड तथा उपभोक्ता अधिकारबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।


कार्यक्रमको सञ्चालन उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहालले गर्नुभएको थियो। बिहानै देखि शुरु भएको सो कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले उत्पादित वस्तुको गुणस्तर सुधार, लेभलिङ्ग प्रक्रिया, खाद्य स्वच्छता तथा बजार व्यवस्थापन सम्बन्धी विविध जिज्ञासा राखेका थिए भने सम्बन्धित निकायका प्रतिनिधिहरुले आवश्यक जानकारी तथा सुझाव प्रदान गरेका थिए।


कमेन्ट गर्नुहोस्