लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको तेस्रो युवा-सम्मेलन सम्पन्न, युवाहरुमा अवसर र सम्भावनाको खोजी

IMG

शंकरपुर् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा बिहीबार तेस्रो युवा सम्मेलन सम्पन्न भएको छ ।  स्थानीय तहमा सम्भावना र अवसरको खोजी विषयमा केन्द्रित रहेको सम्मेलनमा युवामुखी सोच, नीति र सहभागितालाई केन्द्रमा राखेर सम्मेलनको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


सम्मेलनमा नगरपालिकाले सार्वजनिक गरेको अनलाइन फर्म भरि सूचना अनुसार आवेदन गरेका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको थियो । सम्मेलनमा क्षमता, सीप र स्थानीयस्तरमै उपलब्ध अवसरहरूको पहिचान गर्ने विषयमा केन्द्रित रही युवाहरुले छलफल गरेका थिए । सम्मेलनमा विभिन्न वक्ताहरुले तिलोत्तमाका अवसर र सम्भावनाहरूको प्रस्तुति, संघर्ष किन आवश्यक छ ? नीति निर्माण र कार्यान्वयनमा युवाको भूमिका कस्तो रहन्छ ? भन्ने विषयमा सहजीकरण गरेका थिए ।


सम्मेलनको उद्घाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाले युवाहरुका आवश्यकतालाई सम्बोधन गर्दै अघि बढेको बताए ।  त्यस्तैगरी नगर उपप्रमुख जगेश्वर देवी चौधरीले युवाहरु परिवर्तनका संवाहक भएको उल्लेख गर्दै सामाजिक रुपान्तरणमा युवाहरु नवीन सोंचका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।


कार्यक्रममा नृत्य, सांगीतिक प्रस्तुति तथा सिर्जनात्मक गतिविधिहरू समेत प्रस्तुत गरिएको थियो । सम्मेलनले स्थानीय तहमा नै रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका सम्भावनाहरू खोज्न युवाहरूलाई प्रेरित गरेको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि रेञ्चुरीले बताए ।  सम्मेलनका सहभागीहरूले नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।


कार्यक्रममा  तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, शिक्षा, युवा तथा खेलकुद  शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनीप्रसाद शर्मा, कार्यपालिका सदस्य  सुरेन्द्र श्री, राधा शाही ठकुरी, तिलोत्तमा न.पा. भित्रका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य,जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कमेन्ट गर्नुहोस्