
सिमानगर। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सिमानगरमा साढे तीन करोड बढी लागतमा बन्ने नेपालकै आधुनिक र महिलामैत्री हाटबजार भवनको शिलान्याश भएको छ । तिलोत्तमा नगरपालिकाको ३० प्रतिशत र संयुक्त राष्ट्र संघको अफिस फर प्रोजेक्ट सर्भिसेजको ७० प्रतिशत लागत साझेदारीमा १७ कठ््ठा क्षेत्रफलमा नेपालकै नमूना हाटबजार बन्ने भएको हो ।
हाटबजार भवनको शिलान्याश गर्दै नगर प्रमुख रामकृष्ण खांणले महिला व्यवसायीलाई प्राथमिकता दिएर निमार्ण गर्न लागिएको हाटबजार महिलामैत्री र नेपालकै नमूना हुने बताउनुभयो । सिमानगर क्षेत्रलाई केन्द्र बनाएर निर्माण हुने हाटबजारले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक चलायमान हुने उहांले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले १९ वटा सेडमा १६० व्यवसायी रहने बताउनुभयो । हाटबजारमा हरियाली, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ, जेष्ठ नागरिकका लागि चौतारी, बालबालिकाका लागि वाल उद्यान, शान्ति सुरक्षाका लागि सिसिटिभी लगायतका आधारभूत सुविधा समेटिने उहांले बताउनुभयो । हाट बजार सम्झौता भएको मितिले ६ महिना भित्र सम्पन्न हुने पनि प्रमुख प्रशासकीय अधिकृत भुसालले सुनाउनु भयो ।
तिलोत्तमा ४ का वडाध्यक्ष दिलबहादुर क्षेत्रीले हाटबजार परियोजना सञ्चालनका लागि महिलाहरुलाई तालिमहरु सञ्चालन गरिएको र हाटबजार निर्माणले नदी कटानबाट वस्ती सुरक्षित हुने समेत बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका ४ का वडा सचिव काशी ज्ञवाली लगायतले आफ्ना भनाई राख्नु भएको थियो । हाट बजार निर्माणको लागि मुक्ति कन्ट्रक्सन प्रालीले ठेक्का पाएर काम अघि बढाइसकेको संचालक गोबिन्द पाण्डेले बताउनु भयो । हाटबजार निर्माणपछि किसानले आफ्ना कृषि उपज प्रत्यक्ष रूपमा बिक्री गर्न सक्ने वातावरण तयार हुने तथा स्थानीय आर्थिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले हाटबजार निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले किसान र साना व्यवसायीलाई राहत मिल्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्