
बुटवल: सहदेव खड्का ले निर्माण व्यवसायी संघको केन्द्रिय अधिवेशनलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुटवल निवासी तथा सगुन कन्स्ट्रक्सन का सञ्चालक खड्का लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुन्।
उम्मेदवारी घोषणा गर्दै खड्काले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन्। “निर्माण व्यवसायीको हकहित नै मेरो प्राथमिकता हो,” उनले भने, “व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न म प्रतिबद्ध छु।”उनले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका चुनौतीहरू—भुक्तानी ढिलाइ, नीतिगत अस्पष्टता, लागत वृद्धि र प्रशासनिक जटिलता—लाई समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गरे। खड्काले संघलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
खड्काका अनुसार निर्माण व्यवसायीहरूलाई एकताबद्ध गर्दै साझा आवाज बुलन्द बनाउनुपर्ने अहिलेको आवश्यकता हो। “व्यवसायीहरूबीच एकता कायम गरेर मात्र हामीले आफ्ना अधिकार सुनिश्चित गर्न सक्छौं,” उनले भने।सगुन कन्स्ट्रक्सनमार्फत विभिन्न पूर्वाधार निर्माणका काममा संलग्न हुँदै आएका खड्काले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको अनुभव आफूले हासिल गरेको बताएका छन्। उनले आफ्नो अनुभवलाई संघको सुदृढीकरण र व्यवसायीहरूको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।
आगामी नेतृत्व चयन प्रक्रियामा आफूलाई समर्थन गर्न उनले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्। साथै, उनले संघलाई व्यवसायीमैत्री संस्था बनाउँदै समग्र निर्माण क्षेत्रको विकासमा योगदान पुर्याउने योजना अघि सारेका छन्।निर्माण व्यवसायी संघको केन्द्रिय अधिवेशन नजिकिँदै जाँदा विभिन्न पदका लागि उम्मेदवारी घोषणा हुने क्रम बढिरहेको छ। यसैबीच खड्काको उम्मेदवारीले लुम्बिनी प्रदेशमा विशेष चासो र चर्चा पाएको छ।उनि निकोलस पाण्डेयको नेतृत्वमा उपाध्यक्षको उम्मेदवार बनेका हुन्।
कमेन्ट गर्नुहोस्