
शारदा शाही, मंगलापुर // बुटवल–तिलोत्तमा क्षेत्रमा पर्ने १६–३६ क्यानाल सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय युवाहरू र नेपाल आर्मीको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले क्यानाल क्षेत्रको फोहोर व्यवस्थापन र सफाइमा उल्लेखनीय योगदान पुर्याएको छ।
अभियानमा सहभागी युवाहरूले क्यानालमा थुप्रिएको प्लास्टिक, झारपात तथा अन्य फोहोर हटाउँदै पानीको बहावलाई सहज बनाएका थिए। लामो समयदेखि सरसफाइको अभावका कारण क्यानालमा पानीको प्रवाह अवरुद्ध हुँदै आएको थियो, जसले गर्दा आसपासका कृषि जमिनमा समेत नकारात्मक असर परेको स्थानीयहरूले बताउँदै आएका थिए। अभियानपछि क्यानाल सफा भएसँगै पानीको प्रवाह सुचारु भएको छ।
नेपाल आर्मीको सक्रिय सहभागिताले अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाएको थियो। उनीहरूले आवश्यक उपकरणसहित सरसफाइमा सहयोग पुर्याउँदै स्थानीयलाई पनि सचेत गराएका थिए। साथै, युवाहरूको उत्साहजनक सहभागिताले सामुदायिक एकता र सामाजिक जिम्मेवारीको भावना बलियो बनाएको देखिएको छ।स्थानीयवासीहरूले यस्तो अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। क्यानाल सफा हुँदा पानी प्रदूषण कम हुनुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
विशेषगरी सिँचाइमा सहजता आउने भएकाले किसानहरू लाभान्वित हुने बताइएको छ।अभियान आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएका छन्। साथै, क्यानाल क्षेत्रमा पुनः फोहोर नफाल्न स्थानीयलाई आग्रह गर्दै दीर्घकालीन सरसफाइ कायम राख्न सामूहिक पहल आवश्यक रहेको उल्लेख गरेका छन्।
यस अभियानले सरसफाइ मात्र नभई वातावरणीय चेतना अभिवृद्धि गर्ने दिशामा समेत महत्वपूर्ण सन्देश दिएको छ।
कमेन्ट गर्नुहोस्