
करौजिया।रूपन्देहीको तिलोतमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा ४४औँ मगर एकता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मगर समुदायको कला, संस्कृति र पहिचान झल्किने आकर्षक प्रस्तुति गरिएको थियो।
दिवसको अवसरमा भलवारी चोकदेखि मगर समुदायको पारम्परिक भेषभूषा, बाजागाजा तथा विभिन्न सांस्कृतिक झाँकीसहित भव्य पैदल र्याली निकालिएको थियो। र्यालीमा तिलोतमा नगरभित्रका १७ वटै वडाबाट सहभागीहरूले उत्साहजनक उपस्थिति जनाउँदै एकता र पहिचानको सन्देश प्रवाह गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष गीता सारु मगरले मगर समुदायको एकता, पहिचान र अधिकार संरक्षणका लागि सबैलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले भाषा, संस्कृति र परम्पराको संरक्षणमार्फत समुदाय सशक्त बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल मगर सङ्घ तिलोतमा नगर समितिका अध्यक्ष कृष्णबहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घ प्रदेश सल्लाहकार अशोक पुन, बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहा, तिलोतमा–१४ का वडाध्यक्ष आश्विन पौडेल,तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष तथा मगर संघका प्रेम जीएम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।सांस्कृतिक कार्यक्रममा कलाकार खेम रेश्मी मगर र पुष्पा राना मगरले आकर्षक प्रस्तुति दिँदा वातावरण झनै उल्लासमय बनेको थियो। साथै, १७ वटै वडाबाट जातीय भेषभूषामा प्रस्तुत गरिएका नृत्यहरूले कार्यक्रमलाई विशेष बनाएका थिए।
सोही अवसरमा गजुरियो करातेका खेलाडी तथा मास्टर डिग्री उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो। जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको आयोजना नेपाल मगर सङ्घ तिलोतमा नगर समितिले गरेको थियो भने सहआयोजनामा महिला तथा युवा मगर सङ्घका नगर समितिहरू रहेका थिए।
कमेन्ट गर्नुहोस्