
विश्वदीप पाण्डे ‘शुभाष’/ लोकतन्त्रको आत्मा हो, आवधिक निर्वाचन । आवधिक निर्वाचनले मात्रै लोकतन्त्र बाँच्ने त होइन तर, यो बिना लोकतन्त्रको कल्पना असम्भव हुन्छ । त्यसैले आवधिक निर्वाचनलाई लोकतन्त्रको अनिवार्य पक्ष भनिन्छ । नेपाल अहिले त्यही निर्वाचनको संघारमा छ । यद्यपि, यो आवधिक निर्वाचन होइन । न त यो संविधानले परिकल्पना गरेको कुनै अवस्था अनुसारको मध्यावधि निर्वाचन नै हो ।
भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’बाट सिर्जित स्थितिको बाध्यात्मक परिणाम हो यो निर्वाचन । त्यसैले यो निर्वाचनसँग जति आकांक्षा र कामना जोडिएका छन् त्यति नै यसको नतिजा र त्यसले तय गर्ने देशको भविष्यबारे आशंका पनि छन् । अर्को कोणबाट भन्नुपर्दा, जेनजी आन्दोलनलाई आम नागरिकले कसरी बुझेका छन् भन्ने परीक्षण पनि हो यो निर्वाचन । निर्वाचनमा आम नागरिकले कसरी आफ्नो मताधिकार प्रयोग गर्छन् भन्नेले जेनजी आन्दोलनप्रतिको धारणा अभिव्यक्त गर्नेछ ।जेन जी आन्दोलनको अन्तर्य के थियो रु त्यसपछि राजनीतिक कोर्स कस्तो हुनुपर्थ्यो रु राजनीतिक दलका राष्ट्रिय कार्यभार कस्तो हुनुपर्थ्यो रु यी प्रश्नबारे समाजमा फरकफरक दृष्टिकोण छन् । एक थान नयाँ निर्वाचनका लागि मात्र यति ठूलो बलिदान र क्षति भएको थिएन भन्ने तर्कमा पर्याप्त दम छ ।
स्पष्ट छ, आन्दोलन पछिको ‘न्याय’ ठीक ढङ्गले अघि बढ्न सकेन । भदौ २३को ‘दमन’ र २४ गतेको ‘विध्वंश’ दुबैका लागि कसैलाई जिम्मेबार ठानिएन । एक प्रकारको उन्मुक्ति दिइयो । दण्डहीनताको स्थिति सिर्जना गरिएको छ । पक्कै पनि, भदौ २३ को जेनजी प्रदर्शन भ्रष्टाचार र बेथितीको विरुद्ध थियो । दशक यताका ठूला भ्रष्टाचार काण्ड र अकुत सम्पत्ति आर्जनको छानबिन गर्न आन्दोलनकारीले बिशेष आयोग चाहेका थिए । त्यो पनि भएन । शासकीय स्वरूप र निर्वाचन प्रणालीमा संवैधानिक तथा कानुनी सुधार पनि हुन सकेन । कतिसम्म भने विदेश र अपायक बस्ने नागरिकको मताधिकार समेत सुनिश्चित गरिएन । तसर्थ, फाल्गुन २१ गतेको चुनावको एउटा मात्र प्रष्ट औचित्य देखिन्छ– ‘डिरेल’ भएको संवैधानिक प्रक्रियालाई ‘लिक’ मा ल्याउने ।
त्यसैले आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितताका लागि निर्वाचनकै भर पर्नुबाहेक अरु कुनै उपाय तत्कालका लागि देखिँदैन । तर, निर्वाचनले परिवर्तनको आकांक्षा सम्बोधन गर्न सकेन, भाद्र २३–२४ बेलाका शासक दल र नेता नै जस्ताको त्यस्तै फर्किए भने भविष्य झन् अन्धकार हुने जोखिम छ ।
जेनजी आन्दोलनको एउटा मुख्य माग हो, पुरानो र काम गर्न नसक्ने नेतृत्व परिवर्तन । खासगरी ओली–देउवा प्रवृत्तिको पराजय र अन्त्य नवयुवाले चाहेका थिए । शेरबहादुर देउवा अहिले पार्टी नेतृत्वबाट हत्याइएका छन् । तर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रबाट पुनःअनुमोदित भएर चुनावी मैदानमा छन् । निर्वाचनबाट ओलीको पुनरोदय भए परिवर्तनका प्रक्रिया अवरुद्ध हुने त छन् नै आन्दोलनमाथि नै प्रतिशोध साँधिने खतरा छ । नवपुस्ताको माग, आकांक्षाको सम्बोधन र जेनजी आन्दोलनको मर्म आत्मसात गर्दै राजनीतिक प्रक्रियामार्फत अभिव्यक्त गर्ने उद्देश्यले म पनि यो निर्वाचनमा उम्मेदवार बनेको छु । नेपाली कम्युनिष्ट पार्टीबाट ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिँदा निर्वाचन क्षेत्र रुपन्देही–२ नै रोज्नुको पनि कारण छ ।
अवश्य यो म हुर्के, बढेको ठाउँ हो । यहाँका चोक, चौतारी, खेत, खलियानसँग म चिरपरिचित छु । त्यो भन्दा पनि बढी म यस क्षेत्रबाट निरन्तर निर्वाचित नेकपा ९एमाले०का विष्णु पौडेललाई चुनौती दिन उम्मेदवार बनेको हुँ ।कुनै पनि अधिनायकवादी प्रवृत्ति एक्लै उदाउँदैन । त्यसलाई बलियो आड, भरोसा र साथ चाहिन्छ । केपी शर्मा ओलीको अधिनायकवादी प्रवृत्ति विष्णु पौडेलहरूको आड, भरोसा र सहयोगले स्थापित भएको हो । उनी ओली प्रवृत्तिका संवाहक हुन् । जेन जी आन्दोलनका बेलासमेत अर्थमन्त्री रहेका उनी २५/२६ वर्षभन्दा बढी समयदेखि राजकीय भूमिकामा छन् । तर, आम नागरिकको असन्तुष्टि सम्बोधन गर्न सकेका छैन । बरु आर्थिक अनियमितता, भ्रष्टाचार रकुशासनका विभिन्न काण्डमा मुछिएका छन् । देशलाई सुशासन र आर्थिक समृद्धिको बाटोतिर डोर्यानउन पनि असफल छन् । उल्टै, ललिता निवासजस्ता अनेक प्रकरणमा जोडिएका छन् ।
उनी अर्थमन्त्री हुँदा देश चरम वित्तिय संकटको स्थितिमा पुग्यो । आर्थिक बृद्धिदर सुस्त भयो । लगानी घट्यो । उद्यमशीलताको वातावरण विग्रियो । सार्वजनिक ऋण आकासियो । चालु र वित्तिय खर्चमै बजेट सकिने, पुँजीगत खर्चका लागि पैसा नरहने स्थिति बन्यो । उनले पोखरा–बुटवल–नारायणघाट आर्थिक त्रिकोणको कार्यक्रम नै कटौती गरे । आर्थिक विकासले गति नलिनु, जनआक्रोश र आम निरासा बढेर जेन जी आन्दोलन विष्फोट हुनुमा पौडेलजी जस्तो नेतृत्व पनि जिम्मेवार छ ।
देशका विभिन्न भागमा विष्णु पौडेलजस्ता पात्र खडा नगरेको भए ‘ओली–प्रवृत्ति’ आफैँमा यति हानिकारक नहुन सक्थ्यो । विष्णु पौडेलजस्ता पात्रले ओली–देउवा प्रवृतिलाई मलजल गरेकै कारण जेन जी विद्रोहको अवस्था सिर्जना भयो । उनी र उनीजस्ताले नै देशमा आसेपासे पुँजीवादलाई मलजल गरिरहे । जसले राज्यका स्रोत, साधन सीमित व्यक्तिको मुठ्ठीमा कैद गरायो । सीमित मानिसले राज्यस्रोतको दोहन गरेर पुँजी थुपार्ने र लाखौँ युवा दैनिकी चलाउन विदेशिनुपर्ने अवस्था आयो ।
यही बुझाईले नै मलाई रुपन्देही–२ मा उम्मेदवार बन्न प्रेरित गर्योल । व्यक्तिगत रूपमा एकजना ओली पराजित भएर हुँदैन । देशभरबाट ओलीप्रवृत्तिलाई बिदा गर्न सकियो भने मात्रै जेनजी आन्दोलनलाई न्याय हुनेछ । यहाँबाट निर्वाचित भए मैले जेनजी आन्दोलनका मर्म र भावना, माग र मुद्दालाई न्याय गर्ने क्रममा केही योगदान गर्न सक्नेछु । पक्कै पनि युवा भएकाले मेरो विजयले नेतृत्व परिवर्तनको मुद्दालाई पनि सम्बोधन गर्नेछ । तर, अनुहार र उमेरले मात्र होइन विचार, सिद्धान्त र कार्यक्रमले पनि युवा हुन जरुरी छ । मैले तीन, चारवटा ठोस कदम चालेर जेनजी आन्दोलनको मर्म सम्बोधन गर्ने योजना बनाएको छु ।
रुपन्देही–२ मा दशकौंदेखिको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्न सक्दछु । जेन जी आन्दोलनका मर्म र भावना, माग र मुद्दालाई न्याय गर्न थोरै भए पनि योगदान गर्न सक्दछु । त्यसका लागि महत्वपूर्ण संवैधानिक तथा कानुनी सुधारको पैरवी गर्न सक्दछु । जसले आफ्नै ‘नेपाली कम्युनिष्ट पार्टी’मा पनि नयाँ रक्तसञ्चार गर्नेछ । जोश, जाँगर भर्नेछ । अर्को, कुशासन र भ्रष्टाचारको अन्त्य आजको प्रमुख मुद्दा हो । साथै यो हाम्रो पार्टीले लामो समयदेखि उठाउँदै आएको विषय पनि हो । नबिर्सौँ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नै भ्रष्टाचार र कुशासनविरुद्ध जबर्जस्त अभियान थालेको हो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण’देखि अन्य थुप्रै ठूला भ्रष्टाचार काण्डको छानबिन र कारबाही त्यही समयमा भएको हो ।
रुपन्देही–२ मा स्थानीय र राष्ट्रिय दुबै दृष्टिकोणबाट विकल्प अत्यावश्यक भइसकेको छ । नयाँ अनुहार हुँदैमा विकल्प हुँदैन । न त स्टन्टबाजी र लोकप्रियतावादले नै विकल्प दिनसक्छ । स्पष्ट दृष्टिकोण, प्रष्ट मार्गचित्र बिनाको नयाँ अनुहारले पुरानै असफलता दोहोर्यारउने जोखिम हुनेछ ।
नेपाली नागरिकले ग्ल्यामर होइन सही नक्सा बोकेर उचित दिशामा डोर्या उने अगुवा खोजिरहेका छन् । विचारसहितको विकल्पका रूपमा मैले त्यो भूमिका निभाउन सक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको हुँ ।राष्ट्रिय राजनीतिमा परिपक्व विचार, स्पष्ट कार्यदिशा र प्रष्ट मार्गचित्र प्रस्तुत गरेर देशलाई अगाडि बढाउन मैले योगदान गर्ने नै छु । स्थानीय स्तरमा पनि मेरा विशेष मुद्दा छन् ।रुपन्देहीको विकास तथा आर्थिक समृद्धिका लागि जनप्रतिनिधिको बहुपक्षीय समन्वय र सहजीकरण जरुरी छ । विश्वसम्पदा सुचीमा रहेको लुम्बिनी र व्यापारको केन्द्र बुटवल यही निर्वाचन क्षेत्रमा पर्छन् । दशकौँदेखि तमाम सम्भावना बोकेका यी क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेनन् । मलाई विश्वास छ, बुटवल, तिलोत्तमा र सैनामानाका लागि हामीले धेरै काम गर्न सक्ने छौँ । विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, शहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्य गर्न सक्ने छौँ ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो तर, राम्ररी प्रयोगमा आउन सकेन । मूलतः बौद्ध सर्किट देशका तीर्थयात्रीलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याउने प्रयोजनले यो अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको हो । नभए आन्तरिक उडानका लागि मात्र यति ठूलो लगानी र संरचना जरुरी थिएन । तर, अहिले यो विमानस्थल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको छ । भारतसँगको सम्बन्धलाई विश्वासमा नराखी भैरहवा विमानस्थमा सघन अन्तर्राष्ट्रिय उडान उपलब्ध गराउन गाह्रो छ । भारत, भुटान, श्रीलंका, म्यानमा, कम्बोडिया, चीन, ताइवान जस्ता बौद्ध बहुल जनसंख्या भएका देशसँगको सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस प्रयोजनका लागि अन्तर्राष्ट्रियस्तरमै पहलकदमी र सहकार्य जरुरी हुन्छ । त्यसका लागि परिपक्व नेतृत्वको खाँचो छ । अपरिचित र नवीन अनुहारले कूटनीतिक सम्बन्धमा विश्वास सिर्जना गर्न असम्भवप्रायः हुन्छ । कूटनीतिलाई निरन्तरता पनि चाहिन्छ जुन हाम्रो पार्टीको विजयले सुनिश्चित गर्नसक्छ । एकातिर हामीसँग निरन्तरताको विरासत हुनेछ भने ओली प्रवृत्तिजस्तो विदेश नीतिलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने अविश्वसनीयताबाट पनि हामी मुक्त छौँ ।
बुटवलको अर्को समस्या हो, अव्यवस्थित बसोबासको । यो समस्याको समाधान हैन, भावनात्मक दोहन गरिएको छ । अव्यवस्थित बसोबासीलाई अमूक दलको भोट बैंक बनाउने तर, समस्या समाधान भने कहिल्यै नगर्ने प्रवृत्ति अब रहनु हुँदैन । संविधानले नै भूमि अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसक्दा पनि के कारण यो समस्या दशकौँदेखि ज्युँका त्युँ छ रु जवाफ स्पष्ट छ, भोटका लागि । अब यस्त अवस्था रहन दिनु हुँदैन । \
तिनाउ–दानव करिडोर निर्माण गर्दा स्थानीय बासिन्दालाई अनावश्यक र बिना क्षतिपूर्ति वा बिनामुआब्जा विस्थापन गरिनु हुन्न भन्ने मेरो दृढ मत छ । विकासका नाममा विस्थापन किमार्थ सैह्य हुन सक्दैन । विकासको अर्थ जनतालाई उठिबास लगाउनु वा रुवाउनु हैन । विस्थापित हुने हरेक परिवारलाई उचित क्षतिपूर्ति र मुआब्जा दिन पर्छ । नजिकै ‘मोडल हाउजिङ’ मा सम्मानजनक पुनर्स्थापना गरेर मात्र करिडोरको काम अगाडि बढ्छ ।
मेरो प्राथमिकता स्पष्ट छ– ‘मानिसलाई केन्द्रमा नराखी विकास हुँदैन ।’ मानिसको अर्थ मुठ्ठीभरका धनाढ्य नभई आम जनता हुन् । हामीलाई विकास चाहिन्छ तर, मान्छेलाई रुवाएर, बेघरबार बनाएर हैन । अर्थशास्त्री अमर्त्य सेनको ‘क्षमता निर्माण नै विकास हो’ (क्यापाविलिटी अप्रोच) मेरो विकास दृष्टिकोण हो । म मानिसलाई आफ्ना जीवनका आवश्यकता सम्बोधन गर्न सक्षम बनाउने विकासमा विश्वास गर्छु । नाफाको उत्पादन र पुनर्उत्पादनमा सीमित अभ्यास विकास हैन विनाश हो ।
अबको विकासको मोडेल नै मानव केन्द्रित हुनु पर्छ । विकासको नाममा एउटा पनि नागरिक बेघरबार भएर सडकमा आउने स्थिति हुनु हुँदैन । नागरिकको निजी सम्पतिमाथि राज्यले अनधिकृत खेलबाड गर्ने अधिकार राख्दैन । राज्य नागरिकका लागि हो, नागरिक राज्यका लागि हैन । मोतीपुर औद्योगिक क्षेत्रको विवादलाई पनि निकास दिनु छ । मोतीपुरमा रगत बग्नु हुँदैन, उद्योग बन्नु पर्छ । स्थानीय बासिन्दाको जग्गाको ग्यारेन्टी र उनीहरूलाई नै शेयरधनी बनाएर मात्र औद्योगिक क्षेत्र अगाडि बढ्छ । हामी कसैको घर भत्काएर कारखाना बनाउने पक्षमा छैनौँ । पक्कै पनि नेपालजस्तो विकासशील देशका लागि उत्पादनमा आधारित अर्थतन्त्र अनिवार्य छ । तर, उत्पादकबिनाको उत्पादनको परिकल्पना हुनसक्दैन ।
हाम्रो अर्को चासो पर्यावरण हो । ज्योतिनगरको पहिरो र चुरे दोहन बुटवलका लागि ठूलो खतरा हुन्छ भन्ने वातावरणविद्को चेतावनी छ । यसको स्थायी समाधानका लागि ‘बायो–इन्जिनियरिङ योजना’ जरुरी छ । त्यस्तै बुटवल व्यवसाय र प्रविधिको लागि उच्चतम सम्भावना भएको शहर हो । यसलाई नेपालको ‘सिलिकन भ्याली’ बनाउने मेरो सपना छ । मैले यो भोटका लागि बाँडेको सस्तो सपना हैन, सम्भावना देखेर नै यो मुद्दा उठाएको हुँ । बुटवलमा हाई–स्पीड इन्टरनेट सेवा सहितको विश्वस्तरीय आईटी पार्क असम्भव होइन ।
लोकतन्त्रको आत्मा आवधिक निर्वाचन हो भने पारदर्शिता र जवाफदेहिता अक्सिजन । तर, आजको डिजिटल युगमा यो भनाइले मात्र हुने कुरा होइन । डिजिटल प्रविधिको प्रयोगले मात्रै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सकिन्छ । त्यसैले मैले ‘पारदर्शिता एप’को मुद्दा उठाएको छु । निर्वाचन क्षेत्रमा हुने हरेक विकास निर्माण योजना सम्बन्धि विवरण हरेक स्थानीय बासिन्दाको मोबाइलसम्म पुर्याुउन सकियो भने नागरिक निगरानी बढ्छ । भ्रष्टाचार, कमिसनतन्त्र, कम गुणस्तरको विकास निर्माण असम्भव हुँदै जान्छ । त्यही एपमार्फत जनगुनासो लिने, त्यसको सम्बोधन के कति भयो भनेर रेकर्ड राख्ने र जानकारी दिने प्रणाली भयो भने जवाफदेहिता पनि हुनेछ ।
त्यस्तै सुशासनका लागि सबै सरकारी कार्यालयको डिजिटल प्रणाली एकीकृत गरी राष्ट्रिय परिचयपत्र भएपछि कार्यालय पिच्छे बायोमेट्रिक गरिरहनुपर्ने झन्झट नहुने सुनिश्चिता सिर्जना गर्न आवस्यक छ । दोहोर्याउन चाहन्छु, मेरो विकास अवधारणा मानिसलाई सक्षम बनाउने हो, उपभोक्ता वा दास बनाउने होइन । अहिलेसम्म देश र बुटवलको विकास कङ्क्रिट केन्द्रित र सिमेन्टको भयो । म यो फेर्न चाहन्छु । म मानवीय, प्रविधिमैत्री र नागरिकमुखी विकासमा जोड दिन चाहन्छु । विष्णु पौडेलजीहरूको विकास मोडेल ‘भ्यूटावर’ र ‘सिमेन्ट’ को हो । मेरो विकास ‘सेन्टिमेन्ट र सिस्टम’ को हुनेछ ।
पछिल्लो दुई दशकमा रुपन्देही–२ (बुटवल, तिलोत्तमा र सैनामाना) मा घर त बढे, तर, मान्छेका खुशी घटे । म ती हराएका खुशी खोज्ने र फर्काउने प्रयासमा छु । ठूला घर, ऋण, किस्ता र अनेक तनावमा फसेको निन्याउरो बुटवल होइन, आफ्ना सम्भावना परिचालन गरेर प्रफुल्ल बुटवल मेरो सपना हो ।- (लेखक रुपन्देही २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुन्।)
कमेन्ट गर्नुहोस्