
कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाले महिला मैत्री शहर निर्माण गर्ने उद्देश्यसहित युएनओपिएस परियोजनाको शुरुवातका लागि घनिभूत छलफल गरी कार्य प्रक्रिया अगाडि बढाएको छ। नगर क्षेत्रलाई महिलामैत्री, सुरक्षित र समावेशी बनाउने र महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक बनाउने लक्ष्यसहित सरोकारवाला पक्षहरूबीच विस्तृत विचार–विमर्श गरिएको हो।
छलफलमा महिलाको सुरक्षा, सार्वजनिक स्थलमा सहज पहुँच, स्वास्थ्य सेवा, शिक्षाको अवसर, रोजगारी तथा आर्थिक सशक्तीकरणका विषयमा प्राथमिकता दिने विषयमा जोड दिइएको थियो। साथै सडक बत्ती, सुरक्षित यातायात, सार्वजनिक शौचालय, महिला तथा बालमैत्री पूर्वाधार विकास लगायतका योजनाहरू कार्यान्वयन गर्ने प्रस्ताव राखिएको छ।
कार्यक्रममा सहभागी नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, परियोजनाका कन्सल्टेन्ट तथा प्रतिनिधिहरु लगायतले आफ्नो राय राख्दै महिलामैत्री शहर निर्माण केवल पूर्वाधार विकास मात्र नभई सोच, नीति र व्यवहार परिवर्तनसँग पनि जोडिएको विषय भएको बताएका छन्। स्थानीय समुदाय, महिला समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता बिना यस्तो लक्ष्य हासिल गर्न नसकिने धारणा व्यक्त गरिएको थियो।
नगरपालिकाले परियोजनालाई चरणबद्ध रूपमा लागू गर्दै जाने तथा आवश्यक कार्ययोजना तयार गरी शीघ्र कार्यान्वयनमा लैजाने जनाएको छ। यस पहलले महिलाको सहभागिता, नेतृत्व र अधिकार सुनिश्चित गर्दै तिलोत्तमालाई सुरक्षित, समावेशी र दिगो शहरका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्