लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति स्थिर, दक्षिण एसियामा भुटान उत्कृष्ट

IMG

नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले मङ्गलबार सार्वजनिक गरेको 'भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपिआई) २०२५' अनुसार नेपालको सूचकाङ्क यथावत् रहेको छ । नेपालको स्थिति गत वर्षजस्तै यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको हो ।


छ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध गराएको सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको अङ्क निर्धारण गरिएको टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि नेपालले ३५ भन्दा कम अङ्क प्राप्त गर्दै आएको छ । सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचारमुक्त र शून्य अङ्कले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ ।


सन् २०२५ मा विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्, जसले ती देशहरू भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको सङ्केत गर्दछ । नेपालले कम अङ्क प्राप्त गर्नुले सत्तामा पुगेकाले भ्रष्टाचारविरुद्ध प्रभावकारी काम गर्न नसकेको पुष्टि गरेको अध्यक्ष शर्माले बताउनुभयो । भदौ २३ र २४ मा देखिएको 'जेनजी' आन्दोलन तथा मुलुकले बेहोरेको अपूरणीय धनजन क्षतिको मूल कारणमध्ये बढ्दो भ्रष्टाचार पनि एक रहेको दाबीलाई यस सूचकाङ्कले थप पुष्टि गरेको उहाँको भनाइ छ ।


उहाँका अनुसार भ्रष्टाचारग्रस्त मुलुकहरूमा सन् २०२५ मा युवा पुस्ताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएका छन् । नेपाल, फिलिपिन्स र इन्डोनेसियालगायतका देशमा युवाले नेतृत्व तहको शक्ति दुरुपयोग, सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका छन् । अध्यक्ष शर्माले आसन्न निर्वाचनबाट भ्रष्टाचारमा नमुछिएका, इमानदार र प्रतिबद्ध नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । यस्तो नेतृत्व चयन हुन सके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा सुधार आउने उहाँको विश्वास छ ।


पछिल्लो दशकमा विश्वव्यापी रूपमै भ्रष्टाचार नियन्त्रणको प्रगति न्यून रहेको छ । सर्वेक्षणमा समेटिएका १८२ देशमध्ये अधिकांशको अवस्था विगत वर्षको तुलनामा कमजोर बनेको छ । सूचकाङ्क अनुसार सन् २०२५ मा विश्वको औसत स्कोर ४२ कायम भएको छ, जुन अघिल्लो वर्षभन्दा एक अङ्क कम हो ।


यस वर्ष पनि डेनमार्क ८९ अङ्कका साथ सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा शीर्ष स्थानमा रहेको छ । दक्षिण सुडान र सोमालिया भने ९–९ अङ्कसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देशका रूपमा सूचीकृत भएका छन् ।


दक्षिण एसियामा भुटानबाहेक सबै कमजोर दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७१ अङ्क प्राप्त गर्दै तुलनात्मक रूपमा राम्रो स्थिति कायम गरेको छ । भारत र माल्दिभ्सले समान ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८, बङ्गलादेशले २४ र अफगानिस्तानले १६ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनको अङ्क ४३ रहेको छ ।


ट्रान्सपरेन्सी इन्टरनेसनलले राजनीतिक नेतृत्वलाई भ्रष्टाचार नियन्त्रणप्रति दृढ प्रतिबद्धता जनाउन, कानुनको पूर्ण कार्यान्वयन गर्न र नियमनकारी निकाय सुदृढ बनाउन आह्वान गरेको छ । साथै, अन्तरदेशीय पुँजी पलायन रोक्न कानुनी छिद्रहरू बन्द गर्नुपर्नेमा समेत जोड दिइएको छ ।  

कमेन्ट गर्नुहोस्