
काठमाडौं । नेपाली र बलिउड चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनयमार्फत बेग्लै पहिचान बनाएका वरिष्ठ कलाकार सुनिल थापाको नि'ध*न भएको छ। शुक्रबार रातिसम्म चलचित्रको छायांकनमा व्यस्त रहेका थापा शनिबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका थिए। अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृ'त घोषित गरेका थिए।
कलाकार थापा पछिल्लो समय चलचित्र ‘राम नाम सत्य’ को छायांकनमा व्यस्त थिए। संयोगवश, उनले शुक्रबार राति अबेरसम्म सोही चलचित्रको 'क्लाइमेक्स' दृश्यका लागि सुटिङ गरेका थिए। उनका निकट तथा कलाकार विल्सन विक्रम राईका अनुसार, राति अबेर अपार्टमेन्ट फर्किएका थापाले बिहानै सुटिङमा जानु पर्ने भएकाले आफूलाई चाँडै उठाइदिन स्टाफलाई आग्रह गरेका थिए। तर, बिहान बोलाउन जाँदा उनी बेहोस अवस्थामा भेटिए।
दर्जनौं नेपाली चलचित्रमा खलपात्रको भूमिकालाई नयाँ उचाइ दिएका थापालाई दर्शकहरूले विशेषगरी ‘राते काइँला’ को उपनामले चिन्ने गर्दछन्। उनको अभिनयको जादु नेपाली पर्दामा मात्र सीमित रहेन; उनले बलिउडका सफल चलचित्रहरूमा पनि काम गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए। 'मेरी कोम' जस्ता चर्चित बलिउड चलचित्रमा उनको भूमिका निकै रुचाइएको थियो।नियतिको खेललाई कसैले टार्न सक्दैन भन्ने एउटा नमीठो उदाहरण थापाको यो बिदाइ बनेको छ। सुटिङ सेटमा ऊर्जावान् देखिने कलाकारको यसरी अचानक भएको बिदाइले नेपाली चलचित्र जगतले एउटा मजबुत स्तम्भ गुमाएको छ। उनी भौतिक रूपमा हामीमाझ नरहे पनि उनले नेपाली कला र चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदान र उनका कालजयी पात्रहरू सधैं जीवित रहनेछन्।
कमेन्ट गर्नुहोस्