लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा २६औँ विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

IMG

शारदा शाही शंकरपुर। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल अद्भुत रोग निवारण संस्था जिल्ला शाखा बुटवल, रुपन्देहीको सहआयोजनामा २६औँ विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो।


कार्यक्रमका अध्यक्ष तथा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले क्यान्सर जस्तो गम्भीर रोगको रोकथाम, पहिचान र उपचारका लागि जनचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके धेरै क्यान्सर रोगको जोखिम कम गर्न सकिने उल्लेख गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरेले क्यान्सरबारे समाजमा अझै पनि धेरै भ्रम र डर रहेको भन्दै यस्ता कार्यक्रमले सही जानकारी फैलाउन ठूलो भूमिका खेल्ने बताउनुभयो। उहाँले क्यान्सर लागेपछि मात्र होइन, क्यान्सर नलाग्नुअघि नै सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।


त्यसैगरी रुपन्देही जिल्ला शाखा अध्यक्ष खेम हमालले संस्थाले जिल्लाभर क्यान्सरसम्बन्धी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले विशेषगरी महिलामा देखिने स्तन क्यान्सर र पाठेघर (सर्भाइकल) क्यान्सरबारे नियमित जाँच र खोप अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।कार्यक्रममा वरिष्ठ डाक्टर नारायण जिसीले पाठेघर (सर्भाइकल) क्यान्सरबारे जानकारी दिनुहुँदै यो क्यान्सर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक भएको बताउनुभयो। उहाँका अनुसार सर्भाइकल क्यान्सर मुख्यतया ह्युमन प्यापिलोमा भाइरस (HPV) को संक्रमणका कारण हुने गर्दछ। प्रारम्भिक चरणमा यस रोगका लक्षण खासै नदेखिने भएकाले नियमित ‘प्याप स्मियर’ वा ‘HPV टेस्ट’ गराउनु आवश्यक हुन्छ। समयमै पहिचान भएमा यस क्यान्सरको उपचार सम्भव र सजिलो हुने उहाँले बताउनुभयो।


त्यसैगरी वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले स्तन क्यान्सर महिलामा धेरै देखिने अर्को गम्भीर समस्या भएको जानकारी दिनुभयो। उहाँले स्तनमा गाठो देखिनु, आकार परिवर्तन हुनु, निपलबाट असामान्य तरल पदार्थ निस्कनु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्नुभयो।का र्यक्रममा क्यान्सर र भ्याक्सिनबारे पनि जानकारी दिइएको थियो। डाक्टरहरूले सर्भाइकल क्यान्सर रोकथामका लागि HPV भ्याक्सिन अत्यन्त प्रभावकारी रहेको बताउनुभयो। 


यो भ्याक्सिन मुख्यतया कक्षा ६ मा अध्ययन गरिरहेका र पहिले भ्याक्सिन नलगाएका ७ देखि कक्षा १० सम्म अध्ययन गरेका र पढ्न नपाएकाहरुकालागी १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाउन उपयुक्त मानिन्छ, तर आवश्यकता अनुसार ठूला उमेर समूहका महिलाले पनि चिकित्सकको सल्लाहअनुसार लगाउन सक्ने जानकारी दिइयो। भ्याक्सिनले HPV भाइरसको संक्रमणबाट जोगाएर भविष्यमा सर्भाइकल क्यान्सरको जोखिम धेरै हदसम्म घटाउने चिकित्सकहरूको भनाइ छ।कार्यक्रममा सहभागीहरूले क्यान्सरसम्बन्धी जिज्ञासा राख्दै विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष परामर्श पनि गरेका थिए।

कमेन्ट गर्नुहोस्